द्वन्द्वकालका विस्थापित शैल्यशिखर-१ का देव सिंह धामी २२ वर्षपछि घर फर्किए

दार्चुला । माओवादी द्वन्द्वकालका बेला बेपत्ता भएका दार्चुलाका देवसिंह धामी २२ बर्षपछि घर पुगेका छन् । जनयुद्धको समय २०५९ सालमा बेपत्ता भएका दार्चुलाको शैल्यशिखर नगरपालिका–१ बारिल घर भएका धामी २२ बर्ष पछि घर फर्किनु भएको हो ।

देव २२ वर्ष अघि १७ वर्षको उमेरमा तत्कालीन माओवादी लडाकुहरुले निर्घात कुटपिट गरे पछि गाउँबाट भागेर भारत पसेका थिए । “मलाई राम्रो संग याद छैन, सुराकी कि के गरेको भन्थ्यो, गोकुलेमा बन्द कोठामा कुट्दा कुट्दै मर्यो भनेर छोडेका हुन देवले भन्नुभयो, माओवादी लडाकुको कुटाईले म चल्न सक्ने अवस्थामा थिइन, एक जना माओवादीले मरिसक्योे यस्को व्यवस्था भोली विहान गरौला भनेर मलाई त्यही अवस्थामा छोडेका हुन ।” माओवादीले मरिसक्यो भनेर छोडेका देव चौलानी नदी पार गरि बैतडी हुदै भारत पुगेको बताउनुहुन्छ । उहाँलाई कहाँ बाट कहाँ पुगे भन्ने यकिन थाहा छैन । लुकिछिपी भारत पुगे पछि उहाँले भारतका विभिन्न ठाउँमा काम गरेर गुजारा गरेको बताउनुभयो ।

बजार क्षेत्रमा माओवादी आइहाल्छन कि भन्ने लागे पछि भारतको सिमलाको विभिन्न गाउँमा लुकेर बसेको धामीले बताउनुभयो । “अहिले पनि देशमा शान्ती भइसक्यो भन्ने कुरा थाहा थिएन । घर आउन मन त लाग्थ्यो तर माओवादीको कुटाई सम्झिदा सबै कुरा बिर्सन्थे, त्यहाँ (सिमला) बस्दा पनि कतै माओवादी आइ हाल्छन की भनेर बजार जाँदा डर हुन्थ्यो, दुर्गम गाउँमा लुकेरै बसेको थिए, उहाँले भन्नुभयो ।” उहाँको मनमा अहिले पनि माओवादीको त्रास बाँकी नै छ। भारतको सिमलाबाट नेपाल आउन २२ बर्ष देखि हिम्मत जुटाइरहेका देव अहिले छोराको विद्यालय भर्ना नहुने भए पछि जे भए नि सहुला भन्ने ठानेर नेपाल आएको बताउनुहुन्छ । “मलाई नेपालमा युद्ध नै चलिरहेको छ भन्ने लागेको थियो, बाटोमा पनि डर नै थियो, अरुलाई सोध्दै, अनुहार लुकाउदै घर पुगे, या पुगेपछि सबैले अब शान्ती भयो अहिले युद्ध छैन भने पछि बल्ल मन शान्त भयो उहाँले भन्नुभयो ।”

सिमलामा बस्दै आएका देवले केही बर्ष पहिले उतै विहे गर्नुभएको थियो । उहाँको छोरोको उमेर ५ बर्ष भयो, विद्यालय भर्ना गर्न जन्म दर्ता चाहिने भए पछि उहाँ नेपाल आउनुभएको हो । सिमलामा मजदुरी गर्दै आउनुभएका उहाँलाई अब भारत जाने भन्दा पनि सबैले सहयोग गरे गाउमै बस्न मन छ। मलाई यताको बारेमा केही जानकारी छैन । म या बाट गएको २२–२३ वर्ष भयो, अहिले धेरै फरक छ, सबैले सहयोग गरे यतै बस्ने गरि परिवार नै लिएर आउछु, उहाँले भन्नुभयो ।

शैल्यशिखर नगरपालिका–१ का वडा अध्यक्ष भरत बहादुर खडायतले पनि देव लाई यतै बस्ने व्यवस्था गर्न आफु प्रतिवद्ध रहेको बताउनुभएको छ । उहाँले धेरै दुःख पाउनु भएको छ। अब यतै बस्ने व्यवस्था गर्न हामी सबैले सहयोग गर्छाै, वडा अध्यक्ष खडायतले भन्नुभयो । देवका बुवा र एक भाइ कैलाली बसाई सरेर गइसकेका छन। अहिले गाउँमा कान्छा भाइ छन। अलि कति जमिन पनि छ, यतै बस्छन भने हामी सबै गाउँले पनि सहयोग गर्न तयार छौ, देवका छिमेकी परमा खडायतले भन्नुभयो । १७ बर्षको कलिलो उमेरमै बेपत्ता भएका देवका परिवारले कैलाली बसाईबसाई गरिसकेका छन् । देवकी आमाको पहिले नै मृत्यु भएको र बुवा बहादुर धामी कैलालीमा बस्दै आएको वडा अध्यक्ष खडायतले बताउनुभयो ।

वडा कार्यालयले ४३ वर्षीय देवको जन्मदर्ता बनाइदिएको छ । सोमबार वडा कार्यालमै देवको २०३८ साल बैशाख १० गतेको जन्म दर्ता गरिएको वडा अध्यक्ष खडायतले बताउनुभयो । २२ बर्ष पछि पहिलो पटक गाउँ फर्किएका देवलाई गाउँमा जनप्रतिनिधि र स्थानीयहरुले स्वागत गरेका छन । वडा परिवारले पनि देवलाई २२ बर्ष सम्म भोगेका अनेकौ दुःख बिर्सेर नयाँ जीवनको सुरुवात गर्न शुभकामना दिदै गाउँमै बस्ने वातावरण बताउने प्रतिबद्धता जनाएका छन् । देवको जन्मदर्ता गरिएको र नागरिकता लगायत आवश्यक प्रमाण पत्र बनाउन वडा कार्यालयको तर्फबाट सबै सहयोग गर्ने वडा अध्यक्ष भरतबहादुर खडायतले प्रतिवद्धता गर्नुभयो । वेपत्ता देवको परिवारले राज्यबाट अहिले सम्म कुनै सहयोग नपाएको वडाअध्यक्ष खडायतले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?