दार्चुला । दार्चुलामा भूमि समस्या समाधान आयोगले जिल्लास्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
शुक्रवार भूमि समस्या समाधान आयोग दार्चुलाको आयोजनामा केन्द्रीय सदस्य गोवद्र्धन कोलीको उपस्थितिमा अभिमुखीकरण कार्यक्रकम गरिएको हो । जिल्लाका नौँ वटै स्थानीय तहका प्रमुख एवं उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, स्थानीय तहका प्राविधिक, भूमि सम्बन्धी समस्या समाधान आयोग दार्चुलाका सदस्यहरुका लागि अभिमुखीकरण कार्यक्रम गरिएको भूमि समस्या समाधान आयोग दार्चुलाका अध्यक्ष लाल सिंह धामीले जानकारी दिनुभयो ।
अभिमुखीकरण कार्यक्रममा भूमि समस्या समाधान आयोगका केन्द्रीय सदस्य एवं सुदूरपश्चिम प्रदेश संयोजक गोवद्र्धन कोलीले गठन आदेश र कार्यविधि सम्बन्धी जानकारी गराएका थिए । उक्त कार्यक्रममा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी व्यवस्थापनको सैदान्तिक र कानूनी पक्षहरुबारे छलफलसमेत भएको थियो । भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको पहिचान, लगत संकलन र प्रमाणीकरणको काम स्थानीय तहले गर्नेछ । दार्चुलामा यसअघि जिल्लाको दुहुँ गाउँपालिकाका अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा समेत वितरण गरि सकिएको छ । जिल्लाका अन्य पालिकामा प्राप्त निवेदन तथा थप निवेदनका आधारमा अब काम थालिने बताइएको छ ।
भूमि समस्या समधान आयोग दार्चुलाका अध्यक्ष लाल सिंह धामीको अध्यक्षता एवं जिल्ला समन्वय समिति दार्चुलाका प्रमुख महादेव बडूको प्रमुख आतिथ्यतामा कार्यक्रम सञ्चालन गरिएको थियो । आयोगले अव्यवस्थित बसोबासीलाई आयआर्जन, सम्पत्ति, जग्गाको प्रकृति, जग्गाको क्षेत्रफल बसोबासको मूल्यांकन लगायतका विभिन्न आधारमा राजस्व लिएर जग्गा उपलब्ध गराउने व्यवस्था छ ।
त्यस्तै, भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीले भने जग्गा प्राप्त गर्दा राजस्व तिर्नु नपर्ने व्यवस्था रहेको छ ।





प्रतिक्रिया