दार्चुला । दार्चुलाको व्यासँ गाउँपालिका वडा नम्बर १ मा रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्मले हिउँ पन्छाउँदै सीमा क्षेत्रमा आफ्नो गस्ती गरिरहेको छ । हिमपात भएसँगै हिमाली क्षेत्रको जनजीवन अहिले कष्टकर बनिरहेका बेला सशस्त्र प्रहरीले आफ्नो दैनिकी भने रोकेको छैन ।
छाङरूस्थित गुल्मले माइनस १८ डिग्री सेल्सियस तापक्रममा पनि नियमित गस्ती गदैँ आएको सशस्त्र प्रहरी बल नेपाल नं ४४ गण हेडक्वाटर दार्चुलाका गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) देवराज जोशीले जानकारी दिनुभयो । छाङरूबाट खटिएको टोलीले १८ डिग्री तापक्रममा बाटोमा भएको अन्दाजी ३ फिटको हिउ पन्छाउदै गस्ति गरेको उहाँले बताउनुभयो ।
छाङरूस्थित सशस्त्र गुल्मको नेतृत्व डिएसपी लिलि बहादुर चन्दले गदैँ आउनुभएको छ । सितापुल देखि छाङरूसम्म सशस्त्र प्रहरीका नायब निरीक्षकको नेतृत्वमा गएको टोलीले गस्ती गरेको सशस्त्रले जनाएको छ ।
गुल्मले भारत र चीन दुवै छिमेकी देशसँगको सीमा क्षेत्रको सुरक्षा हेर्दै आएको छ । प्रतिकूल मौसम र न्यून स्रोत साधनका बाबजुद पनि छाङरू गुल्मले सीमा क्षेत्रको नियमित गस्ती गर्दै आएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीका देशभरी २५४ बिओपी छन्। जसमध्ये १० वटा बिओपी उत्तरी नाकामा रहेका छन्।





प्रतिक्रिया