दार्चुला । दार्चुलामा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त पाँच वटा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा तीन वटा विद्यार्थी संगठन अनेरास्ववियु, नेविसंघ र अखिल कान्तिकारीबिच भागवण्डामा समझदारी भएको छ ।
तीन वटा ठूला विद्यार्थी संगठनले क्याम्पसको नेतृत्वका विषयमा सहमति जुटाएका हुन् । जिल्लामा क्रियाशिल नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, नेपाली काग्रेस निकट नेपाल विद्यार्थी संघ र नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीबीच चुनाव सहमति भएको हो ।
सहमतिअनुसार लटिनाथ क्याम्पस मार्मा र कृष्ण स्नातक क्याम्पस लालीमा अनेरास्ववियु, राष्ट्रिय क्याम्पस दत्तु र अपिनाम्पा क्याम्पस हुतीमा नेविसंघ तथा शंकरपुर क्याम्पस पस्तीमा अखिल क्रान्तिकारीले नेतुत्व लिने सहमती भएको छ ।
समझदारी अनुसार लटिनाथ क्याम्पस मार्मामा अध्यक्ष अनेरास्ववियु, उपाध्यक्ष, सचिव अखिल क्रान्तिकारी र सहसचिव र कोषाध्यक्ष नेविसंघले पाएको छ ।
कृष्ण स्नातक क्याम्पस लालीमा अध्यक्ष र सहसचिव अनेरास्ववियु, उपाध्यक्ष, कोषाध्यक्ष नेविसंघ र सचिव क्रान्तिकारीले पाएको छ । शंकरपुर क्याम्पस पस्तीमा अध्यक्ष सहसचिव अखिल क्रान्तिकारी, सचिव नेविसंघ र उपाध्यक्ष, कोषाध्यक्ष अनेरास्ववियुले पाएको छ।
राष्ट्रिय क्याम्पस दत्तुमा अध्यक्ष, कोषाध्यक्ष र सहसचिव नेविसंघ तथा उपाध्यक्ष र सचिव अनेरास्ववियुले पाएको छ । यस्तै अपि नाम्पा क्याम्पस हुतीमा अध्यक्ष र उपाध्यक्ष नेविसंघ, सचिव र सहसचिव अनेरास्ववियु तथा कोषाध्यक्षमा क्रान्तिकारीले भाग पाएको छ ।
सहमति पत्रमा अनेरास्ववियुका जिल्ला अध्यक्ष नरेन्द्रप्रसाद जोशी, नेविसंघका कार्यवाहक अध्यक्ष दिपक खाती र अखिल क्रान्तिकारीका अध्यक्ष राजेन्द्र रावलले हस्ताक्षर गरेका छन् । सहमति पत्रलाई जिल्लामा पत्रकार सम्मेलन गर्दै सार्वजनिक समेत गरेका छन् ।
सहमति सार्वजनिक कार्यक्रममा नेपाली काग्रेसका जिल्ला सचिव पुलेन्द्र बहादुर कार्की, एमाले जिल्ला कमिटी सचिव उमेशराज जोशी र नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक पदमराज पन्त (प्रेम) लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।






प्रतिक्रिया