दार्चुला । नेकपा (एमाले) दार्चुलाको संगठन विस्तार र मिसन २०८४ लक्षित तीन महिने वडा केन्द्रीत जरा अभियान जिल्लाभरी जारी छ। अभियान अन्तरगत जिल्लाका विभिन्न स्थानीय तहमा कार्यक्रम सञ्चालन भइरहेको एमाले दार्चुलाका जिल्ला कमिटी सचिव उमेश राज जोशीले जानकारी दिनुभयो । अभियान अन्तरगत मंगलबार (आज) एमालेका तीन वटा टोलीले जिल्लाको व्याँस, नौगाड र मार्मा गाउँपालिकामा कार्यक्रम सञ्चालन गरेको उहाँले बताउनुभयो ।
व्याँस गाउँपालिका वडा नम्बर ६ हुतीमा एमाले केन्द्रीय कमिटी सदस्य हरदेव जोशी नेतृत्वको टोलीले कार्यक्रम सञ्चालन गरेको छ। त्यस्तै नौगाडमा जिल्ला कमिटी अध्यक्ष ज्ञानेन्द्र घर्ती नेतृत्वको टोलीले कार्यक्रम गरिरहेको छ । नौगाडको वडा नम्बर इयरकोटमा आज आयोजित कार्यक्रममा जिल्ला कमिटी सचिवालय सदस्य मंगलसिंह ठगुन्ना, लालबहादुर धामी, जनक सिंह ठगुन्ना लगायतका नेताहरुको उपस्थिति रहेको थियो । मार्मा गाउँपालिका वडा नम्बर ३ र ४ मा प्रदेश कमिटी सचिवालय सदस्यद्वय देव सिंह महर र प्रेमसिंह धामी, मार्मा इन्चार्ज तथा प्रदेश कमिटी सदस्य कृष्ण सिंह धामी लगायतका नेताहरुको उपस्थितिमा कार्यक्रम सञ्चालन गरिएको कार्यक्रममा सहभागी जिल्ला कमिटी सचिवालय सदस्य खेमराज जोशीले बताउनुभयो ।
मार्माको कार्यक्रम सकेर प्रदेश कमिटी सचिवालय सदस्य प्रेमसिंह धामी र जिल्ला कमिटी सचिवालय सदस्य खेमराज जोशी अपिहिमाल गाउँपालिका जानुभएको छ । बुधबार (भोलि) अपिहिमाल गाउँपालिकास्तरीय समिक्षात्मक बैठक खण्डेश्वरीमा आयोजना हुने प्रदेश कमिटी सचिवालय सदस्य प्रेम धामीले बताउनुभयो । जरा अभियान अन्तरगत जनताको घरदैलौमै पुगेर समस्या बुझ्ने प्रयास भइरहेको उहाँले बताउनुभयो ।
एमालेले वडा केन्द्रीत अभियानमा पुराना सदस्यहरुको सदस्यता नविकरण गराउने, सदस्यता नविकरण नगरेका सदस्यहरुसंग आवश्यक समन्वय गरि नविकरणको वातावरण सिर्जना गर्ने, लामो समय पार्टीमा काम गरेका जेष्ठ सदस्यहरूलाई सम्मान गर्ने, जनताका समस्या बुझ्ने र पार्टीको नीति तथा कामबारे जानकारी गराउने, पालिका कमिटी र वडा कमिटीमा कार्यालय स्थापना गरि व्यवस्थित गर्ने लगायतका कार्यक्रम भइरहेको जिल्ला कमिटी उपाध्यक्ष परमानन्द जोशीले बताउनुभयो ।
अभियान सञ्चालनका लागि जिल्लाका नौँ वटै स्थानीय तहका ६१ वटै वडामा सहजकर्ता परिचालन गरिएको र पालिका स्तरीय सहजकर्ता समेत तोकेर कार्यविभाजन अनुसार काम भइरहेको जिल्ला कमिटी अध्यक्ष ज्ञानेन्द्र घर्तीले बताउनुभयो । सबै स्थानीय तहका वडा-वडामा दैनिक जनता र कार्यकर्तासंग भेटघाटसंगै अभियान अन्तरगत विभिन्न कार्यक्रम भइरहेको उहाँको भनाइ छ ।





प्रतिक्रिया