दार्चुला । दार्चुलामा २ वर्षको अवधिमा आगलागीबाट कुल वन क्षेत्रको ६० हेक्टर क्षेत्रफल वन डढेलोले नष्ट भएको छ ।
कुल ७२ हजार ९ सय ८२ हेक्टर क्षेत्रफलमध्ये दुइ वर्षको अवधिमा आगलागीबाट जिल्लाका विभिन्न स्थानमा गरी ६० हेक्टर क्षेत्रफल वन नोक्सान भएको डिभिजन वन कार्यालय दार्चुलाले जनाएको छ ।
डिभिजनल वन अधिकृत लक्ष्मीराज जोशीका अनुसार यस वर्ष जिल्लाको शैल्यशिखर नगरपालिकामा पर्ने राष्ट्रिय वन क्षेत्रको १० हेक्टर क्षेत्रफलमा आगलागी भएको तथा स–साना बोट बिरुवा, रुख, चराचुरुङ्गीका बासस्थान जलेर नष्ट भएका छन् । गतवर्ष आगलागीबाट ५० हेक्टर क्षेत्रफल वन नोक्सान भएको छ ।
आगलागी सम्बन्धी मानिसमा जनचेतनाको अभाव हुनु आगो नियन्त्रण र न्युनिकरण गर्न मुख्य चुनौती रहेको डिभिजनल वन अधिकृत जोशीको भनाई छ । आगलागी कुनै एक व्यक्ति, संस्थाले मात्रै नियन्त्रण गर्न नसक्ने भन्दै उहाँले सबैको समन्वय, सहकार्य र जिम्मेवारीले मात्रै नियन्त्रण गर्न सकिने उहाँको भनाई छ । धेरैजसो आगलागी मानिसकै लापर्बाहीका कारण हुने भन्दै उहाँले समुदायस्तरमा जनचेतना जगाउनु आवश्यक भएको उहाँले बताउनुभयो ।
जिल्लामा ७२ हजार ९ सय ८२ हेक्टर क्षेत्रफल वन क्षेत्र, ६ हजार २ सय ५४ हेक्टर क्षेत्रफल झाडी क्षेत्र, ५१ हजार ६ सय ७५ हेक्टर क्षेत्रफल चरनक्षेत्र, २३ हजार २ सय ३५ क्षेत्रफल कृषिक्षेत्र, ३० हजार ७ सय १९ हेक्टर क्षेत्रफल चट्टानक्षेत्र, ४४ हजार ३ सय ४० हेक्टर क्षेत्रफल निभलक्षेत्र, ६० हेक्टर क्षेत्रफल पानी र नदीबगर क्षेत्र, १ हजार ५ सय १९ हेक्टर क्षेत्रफल अन्य क्षेत्र रहेको छ । जिल्लामा १८४ सामुदायिक वन, २ धार्मिक वन र ८ वटा निजि वन रहेको कार्यालयले जनाएको छ ।





प्रतिक्रिया