दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ५ मा अवस्थित चौपाता चन्नौलाबाट नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन भएको छ। लेकमको विभिन्न क्षेत्रमा रहेको नेटवर्कको समस्या समाधानका लागि रेडियो लोकदर्पणको टावरमा १८ सय मेगाहर्जको रेडियो सिस्टम (उपकरण) जडान गरि सोमबारबाट टेलिकमको फोरजी सेवा सञ्चालन भएको नेपाल टेलिकम दार्चुलाका कार्यालय प्रमुख कृष्ण बहादुर गुरुङले जानकारी दिनुभयो ।
लेकम क्षेत्रको टेलिफोन र इन्टरनेट समस्या समाधान गर्नका लागि अहिले रेडियो लोकदर्पणको टावरमा फोरजी सेवा सञ्चालन गरिएको छ, उहाँले भन्नुभयो, निकट भविष्यमा चन्नौलामा टेलिकमको आफ्नै टावर निर्माण गरिनेछ । टेलिफोन र इन्टरनेट नेटवर्क समस्याको समाधानका लागि रेडियो लोकर्दपणले टावरमा फोरजी बिटिएस उपकरण जडानको सहमति दिएपछि गएको माघ महिनामा उपकरण जडान गरिएको रेडियो लोकदर्पणका स्टेसन म्यानेजर लोकेन्द्र प्रसाद जोशीले बताउनुभयो । रेडियो डिभाइस र फोरजी उपकरण जडान संगै सोमबार (आज) बाट सेवा सञ्चालन भएको उहाँले बताउनुभयो । यस अघि लेकमको कैनोडा, उचाकोट र ऐरपाली टावरबाट टेलिकमको फोरजी सेवा सञ्चालनमा रहेको छ ।
दार्चुलामा ४३ टावर सञ्चालन, ४१ मा फोरजी सेवा
चन्नौलामा फोरजी सेवा सञ्चालन भए संगै दार्चुलामा नेपाल टेलिकमका ४३ वटा टावरहरु सञ्चालनमा आएका छन । सञ्चालनमा आएका ४३ मध्ये ४१ टावरमा फोरजी सेवा सञ्चालन भएको नेपाल टेलिकम दार्चुलाका प्रमुख कृष्ण गुरुङले बताउनुभयो । अहिले सञ्चालनमा रहेका टावरमध्ये १-१ टावरमा टुजी र थ्रीजी सेवा रहेको छ भने भने ४१ वटा टावरहरुबाट फोरजी सेवा सञ्चालनमा रहेको बताइएको छ ।
जिल्लाभरी सञ्चालनमा रहेका टावरहरुमध्ये ९० प्रतिशतमा विद्युतिकरणको सुविधा रहेको छ । दार्चुलामा प्रयोगकर्ताहरुको संख्या बढदै गएपछी अहिले विभिन्न क्षेत्रमा टावरहरुको सर्वे कार्य भइरहेको छ । हाल लेकमको सर्मोली धानाखेती, रिठाचौपाता, मालिकार्जुनको सुगरखाली, रेवली, उकुमा, शैल्यशिखरको नकतड, गोकुलेश्वर, मार्माको गुल्जर, व्याँसको दुम्लिङ लगायतका क्षेत्रमा टावर राख्न माग भएको उहाँले बताउनुभयो । व्याँसको टिंकरमा स्थानीयहरु जाडोको समयमा जिल्ला सदरमुकाम खंलगा झर्ने भएकाले चैत्र देखी कार्तिक सम्म मात्रै टावर सञ्चालनमा आउने गरेको छ । उक्त टावरमा रेडियो लिंक पुर्याउन नसक्दा र दुहुँको बह्मलेक रिपिटर स्टेशनमा समेत सौर्य उर्जा रहेकाले भि सेटबाट सञ्चालन भइरहेको बताइएको छ ।
लेकमको तितेकाडाबाट सञ्चालनमा रहेको टावरमा प्रयोगकर्ताहरुको संख्या बढी हुदा इन्टरनेटको स्पिड स्लो हुने समस्या रहेको छ । उक्त समस्या सामाधानको लागि टेलिकम दार्चुलाले लेकमको चौपाता र सर्मोलीमा १८ सय मेगाहर्जका टावर सञ्चालनमा ल्याउने जनाएको छ । यस्तै जिल्लाका धेरै ठाउँमा टावरहरु तथा टावरको क्षमता थप गरी सेवा सुधार गर्ने गरी काम भइरहेको कार्यालय प्रमुख गुरुङले बताउनुभयो ।




