दार्चुला । अनियन्त्रित संकलनले दार्चुलाका सामुदायिक वन क्षेत्रमा रहेको चुत्रो (किर्मडा) लोप हुने अवस्थामा पुगेको छ।
विभिन्न प्रयोजनको लागि भन्दै स्थानीय व्यापारीहरुले बिरुवाको बोक्रा, काण्ड र जरासम्मै खरिद गर्न थालेपछी जिल्लाका सामुदायिक बन क्षेत्रमा रहेको वन फल चुत्रो(किर्मडा) लोप हुने अवस्थामा पुगेको छ। सामुदायिक बन क्षेत्रबाट अनुमती बिनै अनियन्त्रित रुपमा चुत्रो (किर्मडा) का बिरुवा जरा नै उखेलेर बिक्रि गरिए पछि विरुवाको अस्तीत्वनै लोप हुने अवस्थामा पुगेको हो ।
करिब २ महिना अघि देखि यस क्षेत्रका स्थानीयले सामुदायिक वनबाट अनुमती नलिएरै किर्मडाको संकलन तथा बिक्रि गरिरहेका छन् । जेष्ठ देखि असार साउन सम्म पाक्ने जंङ्गली फलको रुपमा समेत रहेको किर्मडाको अवैध अनियन्त्रित संकलनले अहिले बिरुवा सम्म समेत देख्न मुस्किल भएको शैल्यशिखर नगरपालिका ६ का स्थानीय भानसिंह धामीले बताउनुभयो । सामुदायिक वन क्षेत्रमा प्रशस्त पाईने पाईने किर्मडा सामुदायिक वनका उपभोक्ताको लोभ र व्यापारीको लालचले लोप हुने अवस्थामा पुगेको उहाँको भनाई छ।
स्थानीय व्यापारीले विभिन्न ठाउँमा फरक फरक मुल्यमा कौडीको भाउँमा चुत्रोको बोक्रा, काण्ड, र जरा खरिद गरिरहेका छन्। किर्मडाको जरा र बोक्रा प्रतिकिलो ५० देखि ७० रुपैया सम्म बिक्रि भइरहेको छ, भने काण्ड १० देखि १५ रुपैँया प्रति किलोमा व्यापारीले खरिद गरिहेका छन् ।
अनुमती लिएर बोट विरुवालाई हानी नोक्सानी नहुने गरि संकलन गर्नुपर्ने भए पनि स्थानीयले जरा नै उखेलेर किर्मडाको सत्यानास गरेका छन् । यस विषयमा डिभिजन वन कार्यालय दार्चुलाका प्रमुख लक्ष्मीदत्त जोशीले जिल्लामा चुत्रो (किर्मडा) को संकलन तथा ओसारपोसारको अनुमती कसैले पनि नलिएको बताउनुभयो । अवैध, अनियन्त्रित संकलन भएको कुरा आफुले पनि जानकारी पाएको र त्यस्तो नर्गन नगराउन शव-डिभिजन कार्यालयहरुलाई फागुन महिनामै पत्राचार गरिएको उहाँले बताउनुभयो ।
जोशीले फागुन महिनाबाट नै चुत्रोको संकलन तथा खरिद बिक्रि रोक्न डिभिजन वन कार्यालयहरुलाई पत्राचार गरेको भए पनि अहिले सम्म चुत्रोको खरिद बिक्रि तथा संकलन नरोकिएको जिल्लाका विभिन्न ठाँउबाट स्थानीयले बताएका छन् । अवैध संकलन, खरिदबिक्रि तथा ओसारपोसार गरेको पाईएमा जफत गरि वन ऐन अनुसार कार्वाही गरिने उहाँको भनाई छ । कहि कतै अहिले पनि चुत्रो (किर्मडा) को संकलन तथा खरिद बिक्रि भइरहेको भए डिभिजन वन कार्यालयमा सूचना दिन पनि उहाँले आग्रह गर्नुभयो ।यस अघि पनि जिल्लाका सामुदायिक वन क्षेत्रबाट यसै प्रकृतिले अवैध संकलन गरिएका कतिपय बोटविरुवा अहिले लोप भइसकेका छन् ।
यस्को संकलन तथा ओसारपोसारमा नियमन गरि संरक्षणको जिम्मेवारी रहेका सामुदायिक वनका उपभोक्ता समिति र स्थानीय नागरिक नै पैसाको लोभमा किर्मडा जस्तै बोटविरुवाको विनास गरिरहेका छन ।






प्रतिक्रिया