दार्चुला । नेकपा (एमाले) ले दार्चुलामा पनि जनजागरण सभा तथा प्रदर्शन कार्यक्रम आयोजना गरेको छ । गणतन्त्रको पक्ष र अराजगताको विपक्षमा सोमवार आयोजित जनजागरण सभा कार्यक्रममा जिल्लास्थित सयौँ नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
नेकपा एमालेको पार्टी कार्यालयबाट सुरु भएको प्रदर्शन दार्चुला विकास संगठनको परिसरमा पुगेर कोषसभामा परिणत भएको थियो । कार्यक्रममा सहभागीहरुले लोकतन्त्र र एमालेको पक्ष तथा राजावादीहरुको विरुद्धमा नारा जुलुस लगाएर बजार प्ररिक्रमा गरेका थिए ।
कोणसभालाई सम्बोधन गर्दै एमाले पोलिट्ब्युरो सदस्य, दार्चुला इन्चार्ज एवम् पूर्वमन्त्री गणेश सिंह ठगुन्नाले लोकतन्त्र विरूद्व केहि अराजक शक्ति र व्यक्तिहरुले फैलाइरहेको गलत हल्लाको समयमै जनातालाई जानकारी गराउने उद्धेश्यले जनजागरण सभाको आयोजना गरेको बताउनुभयो । नेपाली जनताले राजतन्त्रमा राजावादीहरुलाई पिठिँउमा बोकेर गाउँ–गाउँ लग्नुपर्ने, इज्जत लुटिनुपर्ने, हत्या, हिंसा, चरम दुर्ववहार भोगेका स्मरण गराउँदैै उहाँले नेपाली जनताको लामो संघर्ष र कयौँ सहिदहरुको बलिदानबाट प्राप्त विधि तथा प्रतिस्पर्धाको उत्तम व्यवस्था लोकतन्त्रमाथी धावा बोल्ने छुट कसैलाइ नभएको बताउनुभएको छ । नेता ठगुन्नाले मत दिएर पठाएका नेता तथा व्यक्ति गलत हुन सक्ने तर व्यवस्था कदापी गलत नरहेको स्पष्ट पार्नुभएको छ ।
२०७९ सालको निर्वाचनमा दार्चुलेली जनताहरुले मत दिइ गठबन्धन गरेर बाजागाजा बजाई पठाएका जनप्रतिनिधिहरुले काम नगरेको र नेकपा एमाले नेतृत्वमा सञ्चालन भएका योजनाहरुमा समेत बजेट कटौटी गरेको नेता ठगुन्नाले बताउनुभयो । अहिले जिल्लामा केन्द्र तथा प्रदेशका योजनाहरुमा बजेट न्यून रहेको र आफ्नो नेतृत्वमा सञ्चालन भएका योजनाहरुमा बजेट कटौटी गर्दा विकासका कामहरु अगाडी बढ्न नसकेको उहाँले बताउनुभयो । धेरै विकास निर्माणका योजनामा बजेट कटौती गरिएको छ, उहाँले भन्नुभयो, गोकुलेश्वर एयरर्पोटमा जहाजबाट ओर्लिनुपर्ने समयमा बजेट नै कटौटी गरेर विमानस्थल निर्माणको काम अधुरो रहेको छ । आजभन्दा ५ वर्ष अगाडी १ अर्व बजेट बिनियोजन गरिएका योजनाहरु हाल ८ करोडमा झारिएको उहाँले बताउनुभयो ।

पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुले स्थानीय जनताको चाहाना अनुसार काम गर्न नसकेको भए सुधार गर्न उहाँले सुझाव दिनुभएको छ । देश र जनताको माग र आवश्यकता अनुसार काम गर्न नसक्ने व्यक्तिलाई पार्टी र र गणतन्त्रले दण्डित गर्न सक्ने उत्तम विधि लोकतन्त्रमा भएको नेता ठगुन्नाको भनाइ छ । संविधान निर्माणका बेला देशभरी जातिय मुद्धा उठदा एमालेले नेपाल देश जात विषेशमा टुक्र्याउन नमिल्ने अडान राखेको, भारतीय नाकाबन्दीको डटेर सामना गरेको, देश र जनताको पक्षमा काम गरेको उहाँले बताउनुभयो ।
अहिले व्यवस्था विरुद्ध उठिरहेका प्रश्नहरु एमालेका कारण नभएको उहाँको भनाइ छ । एमालेले पाएका अवसरको भरपुर सदुपयोग गरि नेपालको हितमा काम गरेको उल्लेख गर्दै उहाँले लोकतन्त्रपछी दार्चुलाको बिकासको हकमा एमालेबाहेक कुनै पार्टीले उल्लेखनीय काम नगरेको उहाँको भनाइ छ । साथै गणतन्त्रवादी राजनीतिक दलहरुलाई जनताको लागी काम गर्न समेत उहाँले सुझाव दिनुभएको छ ।
कोणसभा तथा प्रदर्शन कार्यक्रममा सहभागी वक्ताहरुले अराजक समुहहरुको पछि नलाग्न तथा दार्चुलाको मुहार फेर्नको लागी एमालेलाई अवसर दिन अपिल गर्नुभएको छ । एमाले जिल्ला कमिटी अध्यक्ष ज्ञानेन्द्र घर्तीको अध्यक्षता तथा पोलिटब्युरो सदस्य गणेश सिंह ठगुन्नाको प्रमुख आतिथ्यता रहेको जनजागरण सभा तथा प्रदर्शन कार्यक्रममा केन्द्रीय कमिटी सदस्य हरदेव जोशी, केन्द्र, प्रदेश, जिल्ला, पालिका र वडा तहको विभिन्न जिम्मेवारीमा रहेका नेता तथा सयौँ कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।






प्रतिक्रिया