दार्चुला । दार्चुलामा सामाजिक विकास मन्त्रालयद्वारा सञ्चालित आप्रवासी स्रोत केन्द्रको उद्दघाटन गरिएको छ । जिल्ला प्रशासन कार्यालयभित्र रहेको स्रोत केन्द्रको शुक्रबार (आज) सुदूरपश्चिम प्रदेशकी सामाजिक विकास राज्य मन्त्री सरस्वती खड्काले उद्दघाटन गर्नुभएको हो ।
सुरक्षित वैदेशिक रोजगारीका लागि जानकारी दिने, वैदेशिक रोजगारीमा जान आवश्यक पर्ने कागजपत्रको बारेमा जानकारी दिने, परामर्श दिने, सहजीकरण गर्ने लगायतका काम गर्नका लागि आप्रवासी स्रोत केन्द्रको स्थापना गरिएको सामी परियोजनाका प्रदेश कार्यक्रम अधिकृत पञ्चराम चौधरीले जानकारी दिनुभयो ।
सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयद्वारा सञ्चालित सुरक्षित आप्रवासन कार्यक्रम (सामी) को सहयोगमा आप्रवासी स्रोत केन्द्र सञ्चालनमा ल्याइएको हो ।
स्रोत केन्द्रमा वैदेशिक रोजगारीमा जानेहरूलाई मनोपरामर्शका लागि एकजना दक्ष कर्मचारीको व्यवस्था गरिएको उहाँले बताउनुभयो । वैदेशिक रोजगारीमा जाँदा ध्यान दिनुपर्ने कुराहरू, आइपर्न सक्ने कठिनाइ, अपनाउनुपर्ने सुरक्षा र वैदेशिक रोजगारीमा कुनै अप्ठ्यारो आएमा के गर्ने भन्ने विषयमा केन्द्रले परामर्श दिने उहाँले बताउनुभयो ।
केन्द्रले सुरक्षित वैदेशिक रोजगारीका लागि सूचना र परामर्श सेवा उपलब्ध गराउनुका साथै वैदेशिक रोजगारीमा भइरहेको ठगी कम गराउने र ठगीमा परेकालाई क्षतिपूर्ति उपलब्ध गराउन, मृत्यु वा अंगभंग भएका कामदारको हकमा वैदेशिक रोजगार बोर्ड, सम्बन्धित निकायबाट प्रदान गर्ने आर्थिक सहायताका लागि सिफारिस उपलब्ध गराउने लगायत काम गर्ने चौधरीले बताउनुभयो ।
सुदूरपश्चिमका सबै जिल्लामा आप्रवासी स्रोत केन्द्र सञ्चालनमा ल्याउने उद्देश्य रहेको र केही जिल्लामा स्रोत केन्द्र सञ्चालनमा आइसकेका अधिकृत चौधरीले जानकारी दिनुभयो ।
स्रोत केन्द्रको उद्दघाटन गर्दै राज्य मन्त्री खड्काले स्रोत केन्द्रले वैदेशिक रोजगारमा जाने व्यक्तिहरुलाई सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । वैदेशिक रोजगारीका बिषयमा जानकारी नहुँदा कतिपय नागरिक ठगिएको भन्दै उहाँले स्रोत केन्द्रले सुरक्षित वैदेशिक रोजगारीमा सहयोग पुग्ने बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले वैदेशिक रोजगारीका समस्या, समुदायमा पर्ने असर तथा श्रमिकका अधिकार सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा सामि कार्यक्रमका प्रदेश कार्यक्रम व्यवस्थापक पञ्चराम चौधरीले सुरक्षित आप्रवासन कार्यक्रम अन्तर्गत सूचना तथा परामर्श सेवा, कानुनी सहजिकरण, सीप विकासका लागि सहयोग तथा क्षतिपूर्ति व्यवस्थाका बारेमा जानकारी गराउनुभयो ।
कार्यक्रममा जिल्लाका ९ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष तथा विभिन्न सरोकारवालाहरूको उपस्थिति रहेको थियो । जिल्ला समन्वय समिति संयोजक महादेव बडु कस्यपको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो भने सामाजिक विकास मन्त्रालयका कार्यक्रम अधिकृत रामचन्द्र जोशीले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।





प्रतिक्रिया