दार्चुला । अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले संरक्षण क्षेत्रमा वन्यजन्तुबाट भएको क्षतीको राहत रकम दिने निर्णय गरेको छ।
संरक्षण क्षेत्र कार्यालयमा सोमवार (आज) बसेको बैठकले संरक्षण क्षेत्रभित्र रहेका वन्यजन्तु पीडित स्थानीय नागरिकलाई राहत उपलब्ध गराउने निर्णय गरेको अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका सूचना अधिकारी मनोज अवस्थीले जानकारी दिनुभयो ।
कार्यालय चालु आर्थिक बर्षमा यस अघि १ सय ५ जनालाई राहत वितरण गरेको र अहिले थप ३८ जनालाई राहत वितरणको लागि सिफारिस गरिएको उहाँले बताउनुभयो । संरक्षण क्षेत्रले संरक्षण क्षेत्रमा भएका नागरिकलाई वन्यजन्तुबाट भएको पशुधन र अन्नबाली क्षती तथा मानवीय दुर्घटनाका घटनामा राहत वितरण गर्दै आएको छ।
चालु आर्थिक बर्षमा यस अघि नै १ सय ५ जनालाई ७ लाख ५६ हजार रुपैयाँ राहत वितरण गरिसकेको अवस्थीले बताउनुभयो । त्यस मध्ये ३०-३० जना संरक्षण क्षेत्र भित्र रहेको व्याँस र मार्मा गाउँपालिकाका नागरिक रहेका छन् । त्यस्तै अपिहिमाल गाउँपालिकाका १२ जना, दुहुँ गाउँपालिकाका १३ जना, महाकाली नगरपालिकाका ९ जना र नौगाड गाउँपालिकाका २ जना तथा डिभिजन वन कार्यालयबाट सिफारिस भएका ९ जनालाई राहत वितरण गरिएको उहाँले बताउनुभयो ।
अहिले सिफारिस गरिएका ३८ जनामा अपिहिमाल गाउँपालिकाका १३ जना र व्याँस गाउँपालिकाका १२ जना रहेका छन् । त्यस्तै मार्मा गाउँपालिकाका ८ जना, दुहुँ गाउँपालिकाका २ जना, नौगाड गाउँपालिकाका २ जना र महाकाली नगरपालिकाका १ जना रहेको सूचना अधिकारी अवस्थीले बताउनुभयो । संरक्षण क्षेत्र भित्र वन्यजन्तुबाट भएको क्षतीका ३८ वटा घट्नामा ९ लाख १० हजार ५ सय ५२ रुपैयाँ राहात दिने निर्णय गरेको हो ।
कार्यालयले गत आर्थिक बर्षमा १ सय ४२ जनालाई १५ लाख राहत वितरण गरेको थियो ।
संरक्षण क्षेत्रका कार्यालय प्रमुखको विनय कुमार झाको अध्यक्षतामा सञ्चालन भएको बैठकमा प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशी, डिभिजन वन कार्यालय दार्चुलाका प्रमुख, भेटेरिनरी अस्पताल तथा पशुसेवा केन्द्रका कार्यालय प्रमुख लगायतको सहभागिता रहेको थियो ।
संरक्षण क्षेत्र परिषद् गठन भएको खण्डमा परिषद्ले नै राहत वितरणको लागि सिफारिस गर्ने व्यवस्था रहेको भए पनि अहिले परिषद् गठन नभएकोले कार्यालयले गठन गरेको राहत सिफारिस समितिले नै राहत वितरणको लागि सिफारिस गर्ने गरेको सूचना अधिकारी अवस्थीले बताउनुभयो ।
अपिनाम्पा संरक्षण क्षेत्र ५ बर्ष देखि परिषद् विहिन अस्वस्थामा रहेको छ। अहिले कार्यालयले परिषद् गठनको तयारी स्वरुप संरक्षण क्षेत्रमा पर्ने स्थानीयतहहरुमा समुह र समिति गठन गरिहेको उहाँले जानकारी दिनुभयो ।





प्रतिक्रिया