अपि नाम्पा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् गठनको लागि वडातहमा समुह गठन गरिदै

दार्चुला । लामो समय देखि परिषद् विहिन रहेको अपि नाम्पा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् गठनको तयारी थालिएको छ ।

२०७७ साल देखि परिषद् विहिन रहेको संरक्षण क्षेत्र परिषद् गठनको तयारी सुरु गरिएको अपि नाम्पा संरक्षण क्षेत्रकार्यालय दार्चुलाका सूचना अधिकारी मनोज अवस्थीले बताउनुभयो ।  २०६७ सालमा स्थापना भएको संरक्षण क्षेत्रको २०७१ सालमा पहिलो पटक गठन गरिएको अपि नाम्पा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को २०७७ साउनमै म्याद सकिएको थियो ।

अहिले परिषदको पुर्नःगठनको लागि संरक्षण क्षेत्रमा पर्ने स्थानीय तहका वडा तथा टोलहरुमा उपभोक्ता समुह तथा टोल समुह गठन गरिरहेको उहाँले बताउनुभयो ।   पहिलो परिषद्को कार्यकाल सकिएको पाँच वर्षपछि परिषद् पुर्नःगठनको तयारी स्वरुप अपि नाम्पा संरक्षण क्षेत्रभित्रपर्ने स्थानीय तहका वडाहरुमा उपभोक्ता समुह र महिला समुह गठन भईरहेको उहाँले बताउनुभयो ।

विभिन्न कारणले रोकिएको संरक्षण क्षेत्र परिषद्को गठन यो बर्ष गर्ने तयारी भइरहेको छ । परिषद् पुर्नःगठनका लागि अहिले जिल्लाको नौगाड गाउँपालिकाका वडा तहमा उपभोक्ता समुह गठन सम्पन्न भइसकेको संरक्षण क्षेत्र कार्यालयका रेन्जर अरुण चौधरीले जानकारी दिनुभयो ।

नौगाड गाउँपालिकामा संरक्षण क्षेत्रमा पर्ने ५ वटै वडाहरुमा ३३ वटा उपभोक्ता समुह र ३३ वटा नै महिला समुह गठन गरिएको उहाँले बताउनुभयो ।

त्यस्तै संरक्षण क्षेत्रमै पर्ने जिल्लाको दुहुँ गाउँपालिकामा पनि ३१ वटा उपभोक्ता समुह र ३१ वटा नै महिला समुह गठन गरिएको छ। दुहुँको वडा नम्बर २ मा गठन हुन बाँकी रहेको छ।  अपिहिमाल गाउँपालिकाको पनि वडा नम्बर ६ बाहेक सबै वडाहरुमा ३१-३१ वटा र व्याँस गाउँपालिकाको वडा नम्बर २ बाहेक सबै वडामा ४० वटा उपभोक्ता समुह र ४० वटा नै महिला समुह गठन गरिएको रेन्जर चौधरीले बताउनुभयो ।

उपभोक्ता समुहमा एकजना अध्यक्ष, एकजना सचिव र बाँकी सबै घरधुरीहरु सदस्य रहने व्यवस्था रहेको सूचना अधिकारी अवस्थीले बताउनुभयो ।

उपभोक्ता समुहबाट पाँचजना र महिला समूहबाट तीनजना समेटेर वडा समिति तयार गरिने उहाँले बताउनुभयो । वडा समितिमा सम्बन्धीत वडाका निर्वाचित वडा अध्यक्ष पदेन सदस्य रहने व्यवस्था गरिएको छ। वडामा आएका आठ जना मध्येबाट एकजना वडाको प्रतिनिधि भएर पालिकामा जानेछन् । पालिकामा अध्यक्षमा चुनिएको व्यक्ति जिल्ला परिषद्का लागि आउने तथा ति व्यक्ति जिल्ला परिषद् अध्यक्षको उम्मेदवार हुन् पाउने व्यवस्था गरिएको सूचना अधिकारी अवस्थीले जानकारी दिनुभयो ।

संरक्षण क्षेत्रमा पर्ने स्थानीयहरुमा ८ वडा उपभोक्ता समिती गठन गर्ने तयारी गरेको छ। उपभोक्ता समितिबाट आएका प्रतिनिधिबाट जिल्ला परिषद् गठन गरिने छ।

जस अनुसार व्याँस गाउँपालिकामा २, अपिहिमाल गाउँपालिकामा २, मार्मा गाउँपालिकामा १, नौगाड गाउँपालिकामा १, दुहुँ गाउँपालिकामा १ र महाकाली नगरपालिकामा १ गरी ८ वटा उपभोक्ता समिति गठन गर्ने खाका तयार गरेको सूचना अधिकारी अवस्थीले बताउनुभयो ।

अपि नाम्पा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् जिल्ला समितिमा एकजना अध्यक्ष, सातजना सदस्य, वार्डेन (कार्यालय प्रमुख) सदस्य सचिव, जिल्ला समन्वय समितिका प्रमुख सदस्य, र दलित÷जनजातिबाट एकजना सदस्य हुन पाउने गरी परिषद् पदाधिकारीहरुको खाका निर्माण गरिएको छ ।

अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय व्यवस्थापन परिषद् विहिन हुँदा जडिबुटी व्यवस्थापन कार्ययोजना, संरक्षण क्षेत्र पञ्चवर्षिय व्यवस्थापन योजना, यार्सागुम्बा कार्यविधि, राहत वितरण लगायतका परिषद्ले गर्नुपर्ने कामहरु अलपत्र परेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?