दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकाको दुर्गम न्वालपानी क्षेत्रमा निर्माण भएको मालिकार्जुन-न्वालपानी-दमौरा सडकको पूर्वमन्त्री गणेश सिंह ठगुन्नाले उद्घाटन गर्नुभएको छ।
“न्वालपानीको विकास र पर्यटन प्रवद्धन हाम्रो प्रयास” भन्ने नारासहित मंगलवार (आज) नेकपा (एमाले) पोलिट्ब्यूरो सदस्य एवं जिल्ला इन्चार्ज समेत रहनुभएका पूर्वमन्त्री ठगुन्नाले सडकको उद्घाटन गर्नुभएको गाउँपालिकाको वडा नम्बर २ का वडा अध्यक्ष गणेश सिंह धामीले बताउनुभयो ।
ठगुन्नाले संविधान सभा सदस्य र प्रतिनिधि सभा सदस्य भएको समयमा सडकको लागि डिपिआर तयार गराई उच्च प्राथमिकताका साथ संसद विकास कोषको रकमबाट ट्रयाक खोल्न सुरू गरिएको उक्त सडक आर्थिक बर्ष २०७४/७५ देखि निर्माण सुरु भएको बताइएको छ । मालिकार्जुन गाउँपालिकाको वडा नम्बर ३ लाई शुन्य बिन्दु (जिरो पोइन्ट) मानेर निर्माण गरिएको सडक करिब ७ बर्ष पछि न्वालपानी पुगको हो ।
गत आर्थिक बर्ष र चालु आर्थिक बर्षमा मालिकार्जुन गाउँपालिकाले उक्त सडकलाई आफ्नो पालिकाको रणनीतिक सडकको रूपमा राख्दै आफ्नै स्काईभेटर प्रयोग गरेर ट्रयाक खोल्ने काम गरेको वडा अध्यक्ष धामीले बताउनुभयो । नेता ठगुन्नालाई स्थानीयहरुले बाजागाजा सहित स्वागत गर्दै गाउँमा सडक पुर्याउन महत्वपूर्ण पहल गरेको भन्दै उहाँलाई नै प्रमुख अतिथिको रूपमा बोलाएर सडकको उद्घाटन गरिएको वडा अध्यक्ष धामीले बताउनुभयो ।
सडक उद्घाटन कार्यक्रममा बोल्दै नेता ठगुन्नाले आफुले जनताको सेवा गर्न राजनीति गरेको भन्दै चुनाव हारे वा जिते पनि सधै भरी जिल्लाबासी जनताका आधारभूत आवश्यकता र विकास निर्माणका कामहरूको लागि पहल गरिराख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष हिरा सिंह धामी लगायत जनप्रतिनिधि, गाउँपालिकाका कर्मचारी र स्थानीयहरुको सहभागिता रहेको थियो ।
अहिले उक्त सडक न्वालीपानीको दमौरासम्म पुगेको छ । न्वालपानी सम्म सडक पुगाउन सहयोग गरेकोमा वडा अध्यक्ष धामीले नेता ठगुन्ना, गाउँपालिका अध्यक्ष धामीसहित सम्पूर्णमा धन्यवाद ज्ञापन गर्नुभयो ।





प्रतिक्रिया