
दार्चुला । दार्चुलाको महाकाली नगरपालिकाको वडा नम्बर १,२ र ९ मा सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । महाकाली नगरपालिकाको आयोजना र मालिकार्जुन सामुदायिक संस्था (रेडियो लोकदर्पण) को सहजीकरणमा चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो र दोस्रो चौमासिक अवधिको सार्वजनिक वडा नम्बर १,२ र ९ मा सम्बन्धित वडा कार्यालयमा बुधबार (आज) सम्पन्न भएको हो ।
वडा नम्बर १ मा वडाअध्यक्ष मोहनसिंह महराको अध्यक्षतामा सञ्चालन भएको सार्वजनिक सुनुवाई कार्यक्रममा वडासचिव कम्मान सिंह कुवँरले सेवाप्रवाहबारे बस्तुस्थिति प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा उपस्थित वडाबासीले सार्वजनिक सरोकारको विभिन्न विषयमा सुझाव, गुनासो, प्रश्न र माग राखेका छन् । स्थानीय युवा धिरेन्द्र सिंह महराले वडामा बजेट नआउनुको कारण सोध्नुका साथै लास्कु खोलामा तत्काल आरसीसी वा फलामे पुल र तटबन्ध निर्माण गरिनुपर्ने माग राख्नुभयो । अर्का स्थानीय रेखा लुहारले लास्कुखोलामा पुल नहुदा बिरामी र विद्यार्थीका साथै स्थानीयबासीले सास्ती खेप्नुपरेको गुनासो गर्नुभयो । उमेश सिंह महराले लास्कुदेखि छापरी जोड्ने रोप-वे बिग्रिदा सामान ढुवानीमा समस्या भएकोले मर्मत गरिनुपर्ने माग राख्नुभयो । अधिकांश सहभागीले डुङरी, लास्कु, निजाङ, श्रीबगड लगायत विभिन्न स्थानमा पुल र तटबन्ध बन्नुपर्ने, महाकालीको वडा नम्बर १ लाई बाढी पीडित वडा घोषणा गरिनुपर्ने, वडामा बजेट आउनुपर्ने लगायत माग गरेका छन् । स्थानीय धुर्ब सिंह महराले जनप्रतिनिधिमा जवाफदेहिता, स्पष्टता र जिम्मेवारीबोध हुनुपर्ने सुझाव दिनुभयो । अर्का स्थानीय जानकी महराले लास्कुमा सिचाइ समस्या रहेको, महिला र कृषिको क्षेत्रमा कार्यक्रम नआएको गुनासो गर्नुभयो । सहभागीका सुझाव तथा प्रश्नको जवाफ दिदै वडाअध्यक्ष मोहनसिंह महराले २०७४ मा निर्वाचित पालिका सरकारले ३ करोड बढी दायित्व भुक्तानी बाकी राखेकोले नयाँ बजेटबाट पुरानो भुक्तानी गर्नुपर्दा वडामा बजेट नआएको, वडाका समस्या समाधान गर्न निरन्तर पहल गरिरहेको र अगामी दिनमा बजेट आउने प्रतिबद्धता जनाउनुभयो। वडा नम्बर १ को सार्वजनिक सुनुवाई कार्यक्रमको सहजीकरण पत्रकार लोकेन्द्र प्रसाद जोशीले गर्नुभएको थियो ।
यस्तै महाकाली नगरपालिका वडा नम्बर २ काे चालु आर्थिक वर्ष २०८१/०८२ काे प्रथम र दाेस्राे चाैमासिककाे सार्वजनिक सुनुवाइ कार्यक्रम सेलामा सम्पन्न भएकाे छ । वडा अध्यक्ष शंकर सिह डाेबालकाे अध्यक्षतामा संचालन भएकाे कार्यक्रममा वडा सचिव पुष्कर सिह कार्की जवाफदेहिवक्ता रहनुभएकाे थियाे । सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रथम र दाेस्राे चाैमासिक समयावधिमा वडा कार्यालयबाट प्रवाह भएका सेवा, विकास निर्माणकाे अवस्था वारे नागरिकलाई जानकारी दिइएकाे छ । कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, शिक्षक लगायत नागरिक समाजकाे उपस्थित रहेकाे थियाे ।
यस्तै महाकाली नगरपालिका वडा नम्बर ९ को सार्वजनिक सुनुवाई कार्यक्रम दत्तुमा सम्पन्न भएको छ । वडाअध्यक्ष गजेन्द्र सिंह कार्कीको अध्यक्षतामा सन्चालन गरिएको कार्यक्रममा सहभागीले वडाभित्र खानेपानी, शिक्षा, स्वास्थ्य, संचार लगायतका विषयहरुमा बजेट विनियोजन गर्नुपर्ने माग तथा सुझाव दिएका छन् ।
भोलि (बिहीबार) महाकाली नगरपालिका वडा नम्बर ४, ५ र ६ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्बन्धित वडा कार्यालयमा विहान ११ बजेदेखि सञ्चालन हुनेछ । यस्तै वडा नम्बर ३, ७ र ८ मा शुक्रबार सार्वजनिक सुनुवाई हुनेछ भने वैशाख ७ गते आइतबार महाकाली नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम नगरसभाहलमा आयोजना हुने नगरपालिकाले जनाएको छ । सार्वजनिक सुनुवाईमा सहभागीताका लागि सरोकारवाला सबैलाई अनुरोध गरिएको छ ।