दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ८ मा रहेको बोहरीगाउँ स्वास्थ्य चौकीमा सञ्चालन भएको महिलाहरुको लागि निःशुल्क प्रजनन् स्वास्थ्य शिविर सम्पन्न भएको छ।
शुक्रबार (हिजो)बाट सुरु भएको दुई दिने निःशुल्क प्रजनन् स्वास्थ्य शिविर आज सम्पन्न भएको स्वास्थ्य चौकीका इन्चार्ज कृष्णानन्द पन्तले जानकारी दिनुभयो । दुई दिन सम्म सञ्चालन भएको उक्त शिविरमा १ सय ८९ जना महिलाले सेवा लिएको उहाँले बताउनुभयो ।
शिविरमा सहभागी १ सय ८९ जना मध्ये ७८ जना महिलाको पाठेघरमा हुने क्यान्सर र पाठेघर खस्ने समस्याकोे परीक्षण गरिएको इन्चार्ज पन्ले जानकारी दिनुभयो ।
परीक्षण गरिएका मध्ये ४ जना महिलाको पाठेघर खसेको पुष्टि भएको र ३ जनाको रिङ पेसरी राखेर उपचार गरिएको उहाँले बताउनुभयो । त्यस्तै १ जनालाई अप्रेसनको लागि सिफारिस गरिएको पन्तले बताउनुभयो ।
त्यस्तै ३२ जनाको अल्ट्रासाउण्ड, ६३ जनाको ल्याव टेष्ट गरिएको छ । शिविरमा सहभागी मध्ये ३ जनामा यौन रोग (पीआईडी)को समस्या देखिएको उहाँले बताउनुभयो । शिविरबाट १ जना महिलाले परिवार नियोजन सेवा लिएको स्वास्थ्य चौकी प्रमुख पन्तले बताउनुभयो ।
शिविरमा जिल्ला अस्पताल बैतडीका डाक्टर सुरेश विष्ट र डाक्टर सन्जीन केसीले उपचार तथा परार्मश सेवा प्रदान दिनुभएको थियो ।
शिविरको शुक्रबार शैल्यशिखर नगरपालिकाको वडा नम्बर ८ का वडा अध्यक्ष केशव दत्त जोशीले उद्घाटन गर्नुभएको थियो ।
शिविरमा जिल्ला स्वास्थ्य कार्यालय दार्चुला तथा शैल्यशिखर नगरपालिकाका स्वास्थ्य शाखाका कर्मचारीको पनि सहभागिता रहेको शैल्यशिखर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य अधिकृत शिव दत्त जोशीले बताउनुभयो ।





प्रतिक्रिया