दार्चुलाको लेकम गाउँपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड काठमाडौँ बिच खाद्यान्न आपूर्ति तथा उत्पादन खरिद बिक्री व्यवस्थापनको लागि सम्झौता भएको छ ।
गाउँपालिकामा सहज, सुलभ र नियमित रूपमा खाद्यान्न उपलब्ध गराउने तथा गाउँपालिकाका कृषकले उत्पादन गरेका रैथाने कृषिजन्य उत्पादनलाई बजारिकरण गर्ने उदेश्यले गाउँपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बिच सम्झौता भएको हो ।
गाउँपालिकामा सहज, सुलभ र नियमित रुपमा खाद्यान आपुर्ति गर्ने र गाउँपालिमा उत्पादन भएका रैथाने खाद्यजन्य उत्पादन खरिद बिक्रीको सम्झौता भएको गाउँपालिका उपाध्यक्ष माधवी जोशीले जानकारी दिनुभयो । गाउँपालिकामा उत्पादन भएको खाद्यजन्य बस्तु गाउँपालिकाले संकलन गरेर एकमुष्ट रुपमा संस्थालाई बुझाउने र गाउँपालिकामा अभाव रहेको खाद्यान सामग्री कम्पनीले उपलब्ध गराउने सम्झौता भएको उहाँले बताउनुभयो ।
गाउँपालिका र कम्पनी बिच दुर्गम क्षेत्रका जनतालाई सहज–सुलभ र नियमित रूपमा खाद्यान्न उपलब्ध गराउन गाउँपालिकामा नेपाल खाद्यको बिक्री तथा खरिद कक्ष (डिपो) स्थापना गर्ने सम्झौता भएको उपाध्यक्ष जोशीले बताउनुभयो ।
त्यस्तै खाद्यान्नको सङ्कलन, मौजदात व्यवस्थापन, ढुवानी, बिक्री तथा बजारीकरण प्रभावकारी बनाउन सहकार्य गर्ने, स्थानीय स्तरमा उत्पादन हुने रैथाने बालीहरूको सङ्कलन, बजारीकरण र बिक्रीको सुनिश्चितता गर्न गाउँपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबिच सहकार्य तथा सहजीकरण गर्ने सम्झौता भएको उहाँले बताउनुभयो ।
गाउँपालिका र कम्पनीबिच भएको सम्झौतामा खाद्यान्नको ढुवानी र दैनिक बिक्री व्यवस्थापन, गाउँपालिकामा स्थापना हुने कार्यालयमा जनशक्ति व्यवस्थापन तथा कम्प्युटर बिलिङ प्रणाली सञ्चालनकोे कम्पनी स्वयमले गर्ने गरि सम्झौता भएको गाउँपालिका उपाध्यक्ष जोशीले बताउनुभयो ।
त्यस्तै गाउँपालिकामा उत्पादन भएको रैथाने बालीहरूको खरिद र बजारीकरणको काम तथा नेपाल खाद्यको बिक्री तथा खरिद कक्षमा आवश्यक पर्ने खाद्यान्नको नियमित आपूर्तिको सुनिश्चितता पनि कम्पनीले नै गर्ने सम्झौता भएको छ।
गोदाम, विद्युत र बिक्री कक्षको व्यवस्थापन, स्थानीय स्तरमा उत्पादन हुने रैथाने बालीहरूको सङ्कलन, खाद्यान्न मौजदात व्यवस्थापनको अनुगमन र निगरानी गाउँपालिकाले गर्ने सम्झौतामा उल्लेख गरिएको छ।





प्रतिक्रिया