दार्चुला । दार्चुलाको गोकुलेश्वर अस्पतालमा मेसिन बिग्रिँदा ३ महिना देखि अल्ट्रासाउण्ड सेवा बन्द भएको छ ।
जिल्लाको दोस्रो ठुलो अस्पतालको रुपमा रहेको शैल्यशिखर नगरपालिका वडा नम्बर ९ मा रहेको अस्पतालमा अल्ट्रासाउण्ड मेसिन बिग्रिएको तीन महिना हुँदा समेत मर्मत भएको छैन । अस्पतालको अल्ट्रासाउण्ड मेसिन बिग्रिँदा बिरामीको जाँचमा समस्या भएको गोकुलेश्वर अस्पतालका प्रमुख डाक्टर मनोज पालले बताउनुभयो ।
अल्ट्रासाउण्ड सेवा बन्द भएपछि अहिले सेवाग्राहीले महंगो शुल्क तिरेर निजी अस्पतालमा सेवा लिन बाध्य भएका छन् । निजी अस्पतालको सेवाको गुणस्तरमाथी समेत प्रश्न उठ्ने गरेको छ।
अल्ट्रासाउण्ड सेवा बिग्रिदा अस्पतालमा अल्ट्रासाउण्ड सेवा लिन आएका सयौँ गर्भवती महिला र अन्य बिरामीहरुले चर्काे शुल्क तिरेर निजी अस्पतालमा जानुपर्ने बाध्यता रहेको छ।
मेसिन मर्मत हुन नसक्दा अस्पतालमा आउने बिरामीको जाँचमै समस्या भएको नगरपालिकाको स्वास्थ्य संयोजक शिव दत्त जोशीले बताउनुभयो । “अस्पतालसँग सुरुमा तीन वटा अल्ट्रासाउन्ड मेसिन थियो । दुई मेसिन यसअघि नै बिग्रिए, एउटा चैतदेखि बिग्रिपछि समस्या भएको छ” उहाँले भन्नुभयो ।
गोकुलेश्वर अस्पतालमा दार्चुलाका मात्रै नभइ सिमावर्ती बैतडीका सेवाग्राही समेत आउने गरेका छन् । अस्पतालमा भिडियो एक्सरे गर्नुपर्ने गर्भवतीको सङ्ख्या नै दैनिक १५-२० जना हुने गरेको अस्पताल स्रोतले जनाएको छ ।
एक महिना अघि सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले मर्मत गर्ने गरि मर्मतको लागि मेसिन पठाइएको तर अहिले सम्म मर्मत नभएको अस्पतालका प्रमुख डाक्टर पालले बताउनुभयो । मेसिन बने नबनेको बारेमा समेत जानकारी नभएको उहाँले बताउनुभयो ।
अस्पतालको सेवा बन्द भएको कुरा सार्वजनीक नगर्दा दैनिक टाढा टाढाबाट जाने सेवाग्राही समस्यामा पर्ने गरेका छन् ।





प्रतिक्रिया