दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर १ को एम्बुलेन्स उद्धघाटन पछि शिखर स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको छ ।
शनिवार (आज) एक कार्यक्रमका बिच शैल्यशिखर नगरपालिकाका नगर प्रमुख विजय सिंह धामीले एम्बुलेन्सको उद्धघाटन गरेर शिखर स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेको शैल्यशिखर नगरपालिकाका वडा नम्बर १ का वडाअध्यक्ष तथा नगरप्रवक्ता भरत बहादुर खडायतले जानकारी दिनुभयो ।
वडाको २२ लाख बजेटमा केहि समय पहिले खरिद गरेको एम्बुलेन्स स्वास्थ्य मन्त्रालय र सडक विभागमा परीक्षणपछि स्वीकृत भएसंगै शुक्रवार (हिजो) वडा कार्यालयमा पुर्याइएको थियो । एम्बुलेन्स सञ्चालनमा आएसंगै शैल्यशिखर नगरपालिका सहित मार्मा, अपिहिमाल र नौगाड तथा बैतडीको डिलासैनी गाउँपालिकाका स्थानीयहरुले सेवा पाउने उहाँले बताउनुभयो । साथै एम्बुलेन्स सञ्चालन तथा व्यवस्थापनमा नगरपालिकाले थप बजेटको व्यवस्थापन गर्नुपर्ने समेत उहाँको माग छ ।
एम्बुलेन्स उद्धघाटन तथा हस्तान्तरण कार्यक्रममा बोल्दै नगर प्रमुख धामीले शैल्यशिखर नगरवासीको स्वास्थ्य उपचार सेवामा सहयोग पुर्याउने उद्धेश्यले वडाले एम्बुलेन्स खरिद गरेर ल्याएको अवगत गराउदै अब उपचार सम्भव नभएर रेफर गरिएका बिरामीहरुले तत्काल सेवा पाउने व्यवस्था गरिएको बताउनुभयो । त्यस्तै कार्यक्रममा बोल्दै नगर उपप्रमुख शान्ती खडायतले स्वास्थ्य सबैभन्दा ठुलो उपहार भएको बताउदै वडा कार्यालय र नगरपालिकाले स्वास्थ्य तथा छरितो उपचार सेवालाई प्राथमिकतामा राखेर अगाडी बढेको बताउनुभयो ।
नगरपालिकाबाट वडालाई प्राप्त बजेटबाट एम्बुलेन्स खरिद गरेर सञ्चालनमा आएपछि स्थानीयले वडाअध्यक्ष भरत बहादुर खडायतका साथै नगरप्रमुख विजयसिंह धामी, उपप्रमुख शान्ति खडायत तथा वडा र नगरपालिका परिवारलाई धन्यवाद दिएका छन् ।
एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा नगर प्रमुख विजय सिंह धामी, उप–प्रमुख शान्ती खडायत, प्रमुख प्रशासकीय अधिकृत शुरेन्द्र बहादुर बिष्ट, वडा नम्बर १ का वडा अयक्ष एंव नगरप्रवक्ता भरत बहादुर खडायत, स्थानीय जनप्रतिनिधिहरु, राजनितिक दलका प्रतिनिधि लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।






प्रतिक्रिया