नेपालतर्फ बाटो नबन्दा भारतबाटै ‘कुञ्चा’ सरे ब्याँसी सौका

दार्चुला । दार्चुलाको ब्याँस गाउँपालिकामा मात्रै बसोबास रहेको ब्याँसी सौका समुदाय गर्मी बढे संगै सदरमुकाम खंलगाबाट ‘कुञ्चा’ सरेका छन् । ब्याँस गाउँपालिका वडा नम्बर १ को छाङरु र टिंकर गाउँमा बसोबास रहेका ब्याँसी सौका समुदाय यो पटक पनि भारतकै बाटो भएर जिल्ला सदरमुकाम खंलगाबाट कुञ्चा सरेको ब्याँस गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष असोक सिंह बोहराले बताउनुभयो ।

ब्याँस गाउँपालिकाको वडा नम्बर १ को छाङरुका १४० घरधुरी मध्ये ७५ घरधुरी र टिंकरका ७१ घरधुरी मध्ये ३५ परिवारले कुञ्जा (बसाईसराई) गरेका छन् । हिउँदमा ब्याँस क्षेत्रमा बाक्लो हिमपात हुने भएकोले ब्याँसी सौका समुदायले हिउँदका ६ महिना जिल्ला सदरमुकाम खंलगामा र गर्मी यामका ६ महिना आफ्नै थातथलो छाङरु र टिंकर गाउँमा बसोबास गर्ने गरेका छन् । यसरी ब्याँसीहरुले बसाईसराई गर्नुलाई उनिहरुको भाषामा कुञ्जा सार्ने भन्ने गरिन्छ ।

जिल्ला सदरमुकाम खंलगाबाट भारतको बाटो हुँदै कुञ्जा सरेका ब्याँसीहरुलाई छाङरु पुग्न ५ दिन र टिंकर पुग्न ६ दिन लाग्ने गरेको छ। भारतीय प्रशासनको अनुमती लिएर आज सदरमुकाम खंलगाबाट हिडेको कुञ्जा पहिलो दिन दोभारमा बास बस्ने वडा अध्यक्ष बोहराले बताउनुभयो । त्यस्तै दास्रो दिन किम्तोला, तेस्रो दिन नज्याङ र चौथो दिन गुदी पुगेका सौका समुदाय पाँचौ दिन ब्याँसको छाङरु पुग्ने वडा अध्यक्ष बोहराले बताउनुभयो । त्यहाँबाट पनि टिंकरका बासिन्दा थप एक दिन हिडेर टिंकर पुग्ने उहाँले बताउनुभयो । नेपालबाट ब्याँस र टिंकर सम्म पुग्न घोरेटो बाटो समेत छैन ।

ब्याँसीहरुले बर्षौ देखि कुञ्जा सर्दा भारतकै बाटो प्रयोग गर्दै आएका छन् । नेपाल–भारत जोड्ने सीतापुल नाकाबाट ब्याँसी सौका समुदाय भारतको बाटो हुँदै छाङरु र टिंंकर पुग्ने छन् । टिङ्कर र छाङरुगाउँमा हिउँदमा बाक्लो हिमपात भएपछि चिसो छल्न गत मङ्सिरको पहिलो साता सौका समुदायको कुञ्चा (बसाइँसराइ) सदरमुकाम खलङ्गा झरेको थियो । गर्मीयाम सुरु भएर हिउँ पग्लिन सुरु भएसँगै सो समुदायका मानिस बालबच्चा, वस्तुभाउसहित कुञ्चा सरेका हुन । ब्याँसी सौका समुदायले गाउँ फर्किएपछि तरकारी लगायत हिँउदे बाली भित्र्याउने काम सुरु गर्ने वडा अध्यक्ष बोहराले बताउनुभयो ।

नेपालतिरबाट बाटो नहुँदा सौका समुदायका मानिस विगतदेखि नै भारतीय बाटो प्रयोग गर्न बाध्य छन् । भारतीय बाटो प्रयोग गर्दा भारतीय सुरक्षाकर्मीको दुव्र्यवहार खेप्नुपर्ने, बाटो प्रयोग अनुमति लिनुपर्ने लगायतका समस्या रहेको ब्याँसीहरुको गुनासो छ ।

सरकारले गत माघ १४ गते ब्याँस घोरेटो बाटो निर्माणका लागि पाँच करोड पचास लाख रुपियाँ बजेट विनियोजन गरेको छ । सो बजेट कार्यान्वयनका लागि प्रक्रिया सुरु भइसकेको वडा अध्यक्ष बोहराले बताउनुभयो । “सरकारले ब्याँसको छाङरु र टिंकर सम्म पुग्ने घोडेटो बाटो निर्माणको लागि बजेट विनियोजन गरेको छ, यो बजेटले बाटो बन्नेमा हामी पुर्ण आशावादी छौ, अर्को पटक कुञ्जा सर्दा नेपालकै बाटो भएर सार्न पाइयोस्” वडा अध्यक्ष बोहराले भन्नुभयो । फागुन चैतमा घोरेटो निर्माण गरेर यो पटकको कुञ्चा नेपालकै बाटोबाट सर्ने योजना भएपनि प्रकृयागत ढिलाइका कारण समयमै काम सुरु नहुँदा यो पटक पनि भारतकै बाटो भएर कुञ्चा सर्नुपरेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?