दार्चुला । महाकाली कोरिडोर अन्तरगतको दार्चुला–टिंकर सडकको व्याँस गाउँपालिका वडा नम्बर १ छाङरू गाँगाबाट पिपलच्याक्तीसम्मको खण्डमा निर्माण कार्य सुरु भएको छ। गत फागुनमा नेपाल सरकारले व्याँस जोड्ने घोडेटो बाटो निर्माण र दार्चुला–टिंकर सडकको लागि बजेट विनियोजन गरेको थियो । घोडेटो निर्माणको काम प्रक्रियामै अल्झिएको छ। सडकको लागि विनियोजित बजेटबाट अहिले विभिन्न खण्डमा सडक निर्माण कार्य भइरहेको नेपाली सेनाका सह-सेनानी, सूचना अधिकारी कैलास कुमार बस्नेतले जानकारी दिनुभयो ।

व्याँस गाउँपालिकाको तम्बाकु, कल्जु र आतुङ्तीमा सडक निर्माण कार्य जारी रहेको र अहिले गाँगाबाट पनि निर्माण कार्य सुरु गरिएको उहाँले बताउनुभयो । तलबाट निर्माण कार्य जारी छ, अहिले गागाबाट पिपलच्याक्ती सम्मको खण्डमा पनि निर्माण कार्य सुरु गरेका छौ, उहाँले भन्नुभयो । बैशाख २० गतेबाट उक्त क्षेत्रमा कामदार प्रयोग गरेर निर्माण कार्य सुरु गरेको उहाँले बताउनुभयो ।

सडक निर्माणको लागि स्काइभेटर लगायतका मेसिन ढुवानी हेलिकप्टर मार्फत गर्नुपर्ने र त्यस्को तयारी पनि अन्तीम चरणमा पुगेकोले छिट्टै मेसिन ढुवानी गरेर मेसिन मार्फत पनि सडक निर्माण गरिने उहाँले जानकारी दिनुभयो ।

महाकाली कोरिडोर अन्तरगत नेपाली सेनाले निर्माण गरिरहेको दार्चुला–टिंकर सडक खण्डमा बजेट अभाव हुँदा सन्तोषजनक कार्य प्रगति हुन सकेको छैन् । बजेट अभावमा सेनाले न्यून लक्ष्य राखेर काम गरिरहेको छ । सरकारबाट प्राप्त बजेट अनुसार लक्ष्य निर्धारण गरेर नेपाली सेनाले टिंकर सडकमा काम गरिरहेको नेपाली सेनाका सूचना अधिकारी गौरव कुमार केसीले बताउनुभयो । बजेट अभावमा टिंकर सडकमा सन्तोषजनक प्रगति हुन नसकेको भन्दै स्थानीयबासी र जनप्रतिनिधिले पटकपटक सरकारसंग अनुरोध गरेपनि माग र आवश्यकता अनुसार बजेट अझै थप गरिएको छैन् ।

तुषारपानीनजिकैको फतङगाड खोलापारीको चट्टानी भूभागमा यो वर्ष दुई सय मिटर लामो ट्रयाक खोलिएको छ । व्याँस गाउँपालिका–२ आतुङती क्षेत्रमा पाँच सय मिटर र तम्बाकु क्षेत्रमा पाँच सय मिटरभन्दा बढी नयाँ ट्रयाक निर्माण गरिएको छ । व्याँस गाउँपालिका–३ तुषारपानीदेखि वडा नम्बर २ को माल, कोठधार, सगनाडी, दुम्लिङ, कल्जु र तम्बाकु क्षेत्रमा सडक निर्माण कार्य भइरहेको बताइएको छ । सेनाले सडक निर्माणको जिम्मा लिएको सडक खण्डको सुरुवातीदेखि पाँच किलोमिटर सम्मको सडकमा माघ अन्तिम सातादेखि गाडी सञ्चालन भएको छ । दार्चुला–टिंकर सडक खण्डको व्याँस गाउँपालिका–२ मालगाउँसम्मको सडकमा गाडी पुगेको उहाँले बताउनुभयो ।

आर्थिक वर्ष २०७७/७८ देखि सडक निर्माण कार्य थालेको सेनाले हालसम्म करिब १५ किलोमिटर सडकको ट्रयाक खुलाएको छ भने आठ मिटर चौडाइको आठ किलोमिटर सडक स्तरोन्नती कार्य गरेको छ । कुल ७९ किलोमिटर लामो दार्चुला–टिंकर सडक खण्डमध्ये हालसम्मको समष्टिगत भौतिक प्रगति सन्तोषजनक छैन् ।
चर्चा धेरै तर बजेट थोरै पाउने गरेको टिंकर सडकखण्ड लक्ष्य अनुसार निर्माण सम्पन्न गर्न करिब पाँच अर्ब बजेट आवश्यक छ । पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको टिंकर सडकमा भगौलिक कठिनाई, उपकरण र बजेट अभावमा कार्यप्रगति सन्तोषजनक हुन सकेको छैन् ।

आर्थिक, धार्मिक, पर्यटकीय विकास र राष्ट्रिय स्वाधिनतासंग जोडिएको सामरिक महत्तको टिंकर सडकमा प्रयाप्त बजेट विनियोजन गरेर प्राथमिकताका साथ निर्माण गर्नुपर्ने स्थानीयसंगै जिल्लाबासी र राजनीतिक दलका नेताहरूको भनाइ छ। केही दिन पहिले प्रधानमन्त्री र अर्थमन्त्रीलाई भेटेर नयाँ बजेटमा दार्चुला-टिंकर सडकमा प्राथमिकताका साथ बजेट विनियोजन गरिदिन सरकारलाई अनुरोध गरिएको पूर्वमन्त्री गणेशसिंह ठगुन्नाले बताउनुभयो । टिंकर सडकमा प्रयाप्त बजेट विनियोजन हुनुपर्ने विषयमा जिल्लास्थित स्थानीय तहदेखि प्रदेश र केन्द्रीय नेताहरूको एकमत देखिन्छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?