दार्चुला । यतिवेला दार्चुलाका किसान यस क्षेत्रको प्रमुख बर्खे बाली मकै छर्नमा ब्यस्त छन् ।
चैत्र बैशाखमा हिउँदे बाली भित्र्याएका किसानहरु यतिबेला मकै बाली लगाउनमा ब्यस्त रहेका हुन् । जिल्लाका सबै फाटहरुमा अहिले यस क्षेत्रको प्रमुख बर्खे बाली मकै लगाउने चटारो रहेको छ ।
कृषि ज्ञानकेन्द्र दार्चुलाका अनुसार गत वर्ष दार्चुलामा ८ हजार ५ सय ३८ हेक्टर क्षेत्रफलमा मकै खेती गरिएकोमा १० हजार ८० मेट्रिकटन मकै उत्पादन भएको थियो । त्यस्तै गत वर्ष १ं.८२ प्रतिहेक्ट्रर उत्पादकत्व रहेको थियो ।जिल्लाका विभिन्न स्थानीय तहहरुले मकै बाली प्रवद्र्धनका लागी उन्नत जातको मकैको बिउँ बिजन बितरण गरिरहेको बताइएको छ । त्यस्तै कृषि ज्ञानकेन्द्र दार्चुलाले जिल्लाका नौँ वटै स्थानीय तहहरुमा भटमास प्रवद्धन कार्यक्रम सञ्चालन गरेर कृषक तथा कृषि समुहहरु छनोट गरिसकेको छ ।
आइतवार (हिजो) मात्रै दार्चुलामा प्रादेशिक कृषि विकास रणनीति (पिएडीएस) जिल्ला समन्वय समितिको बैठक सम्पन्न भएको छ ।उक्त बैठकबाट अगामी वर्षमा सञ्चालन गरिने कार्यक्रमहरु तथा योजना तर्जुमा र रणनीतिका विषयमा छलफल गरिएको उहाँले बताउनुभयो । जिल्लाका नौँ वटै स्थानीय तहका प्रमुख एंव कृषि प्राविधिकहरुसंग समन्वय गरेर उत्पादन क्षेत्र छनोट गरिएको छ । अगामी आर्थिक वर्षमा एक पालिका एक उत्पादन, फरक पालिका फरक उत्पादन, व्यवसायीक बाली र प्राङ्गारिक बाली क्षेत्र छनोट गरेर उत्पादन हुने बालीहरु निर्घारण गरिएको छ । जेठ पहिलो सातासम्म मकै छर्ने उपयुक्त समय हुने भएकाले किसानहरु यतिबेला खेतहरुमै मकै छर्न ब्यस्त रहेका छन् । जिल्लाका विभिन्न स्थानीय तहहरुले बर्खे खेती अन्तरगत प्रमुख बाली मकैको बिउँ, विजन बितरण गरिरहेका छन् ।
यस वर्ष समयमै वर्षा भएपछि सिचाई सुविधा नभएका क्षेत्रका किसानहरुपनी मकै छर्नमा ब्यस्त रहेका छन् । कृषि ज्ञानकेन्द्र दार्चुलाका अनुसार गत वर्षको तुलनामा यस वर्ष मकै उत्पादनको क्षेत्र बढ्ने आकलन गरिएको छ ।





प्रतिक्रिया