दार्चुला । नेपाली सेनाद्धारा निर्माणाधीन महाकाली कोरिडोर अन्तरगत दार्चुलाको “तुसरपानी–कोठेधार–टिंकर” सडक निर्माणको लागि नेपाली सेनाले हेलिकप्टरमार्फत छाङरूमा सामग्री ढुवानी गरेको छ । मेसिनका पार्टपुर्जा छाङरु पुर्याएर जडान कार्य सम्पन्न भइ स्काइभेटर तयारी अवस्थामा रहेको र अबको एक दुई दिनमै सडकमा मेसिन प्रयोग गरिने सैन्य स्रोतले जनाएको छ ।

सडक निर्माणको लागि नेपाली सेनाले हेलिकप्टरमार्फत सुन्सेराबाट गत आइतवारदेखि स्काभेटरका पार्ट–पुर्जा र लिप्टिङ म्यानेजमेन्टका साम्रगीहरु छाङरूमा ढुवानी गरेको थियो । हेलिकप्टरमार्फत सिंगो स्काभेटर बोक्न नसकिने भएपछि पार्टपुर्जाहरु निकालेर ढुवानी गरिएको र सबै पार्टपुर्जा पुगेपछि छाङरुमै जडान गरिएको हो । दार्चुला–टिंकर सडक निर्माणका लागि छाङरुमा स्काइभेटर मेसिन तयार भइसकेको वडाअध्यक्ष अशोकसिंह बोहराले बताउनुभयो । नेपाली सेनाको सडक निर्माणको टोली झण्डै १५ दिन अगाडी नै उक्त क्षेत्रमा पुगेर काम गरिरहेको छ, उहाँले भन्नुभयो, स्काइभेटर मेसिन समेत प्रयोग भएपछि तिब्रताका साथ सडक निर्माणको काम हुने अपेक्षा गरेका छौँ ।

सेनाको सडक निर्माण टोलीले वैशाख १९ गतेबाट निर्माणकार्य सुरु गरेको र कामदारहरुको सहायतामा छाङरू गागा क्षेत्रमा सडक निर्माण गरिएको सेनाले जनाएको छ । यसअघिको कार्यकालमा प्रधानमन्त्री केपी शर्मा ओली भएकै बेला दार्चुला–टिंकर सडकको तुसरपानीदेखि टिंकरसम्म ७९ किलोमिटर सडक खण्ड निर्माणको जिम्मा नेपाली सेनालाई दिइएको थियो । अहिले पनि टिंकर सडकमा बजेट अभाव र कार्यप्रगति शन्तोषजनक नरहेको गुनासोका बिच स्थानीयबासी, जनप्रतिनिधि र सरोकारवालाहरुको अनुरोधमा प्रधामन्त्री ओलीकै सक्रिय भूमिकापछि टिंकर सडकमा दुबैतर्फबाट काम सुरु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिन पहिले संसदलाई सम्बोधन गर्दै दार्चुला सदरमुकामदेखि उत्तरतर्फ निर्माण भइरहेको टिंकर सडक सरकारको प्राथमिकतामा रहेको बताउनुभएको थियो । गत सोमबारको बैठकमा कुनैपनि सांसदले टिंकर सडकबारे प्रश्न नराखेको अवस्थामा समेत प्रधानमन्त्री ओलीले टिंकर सडकमा सरकारले बजेट विनियोजन गरिरहेको जानकारी दिनुभयो । टिंकर सडकमा आवश्यकता र नेपाली सेनाको माग अनुसार बजेट विनियोजन गर्ने प्रधानमन्त्री ओलीको भनाई छ ।

आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले टिंकर सडक निर्माणको काम भइरहेको र डोजर थपिदै गरेको समेत जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीले टिंकर सडकबारे चासो राख्नु सकारात्मक भएको भन्दै दार्चुलाबासीले प्रयाप्त बजेट विनियोजन गरि तिब्रताका साथ निर्माण कार्य अगाडी बढाउन अनुरोध गर्दै आएका छन् ।

नेपाल सरकारले जेठ १५ गते आगामी आर्थिक वर्ष २०८२।०८३ को बजेट सार्वजनिक गर्दैछ । उक्त बजेटमा दार्चुला–टिंकर सडकलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिदिन दार्चुलाबासीले माग गरेका छन् ।

भिडियो हेर्न यो लिंकमा क्लिक गर्नुहोस् https://www.facebook.com/share/v/1A6mugQzSg/

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?