यार्चागुम्बा संकलनका लागि शिक्षक-विद्यार्थी लेकतिर लागेपछि अपिहिमालका विद्यालय बन्द

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिकाका शिक्षक–विद्यार्थी लेकतिर गएपछि विद्यालय बन्द भएका छन् ।

यार्चागुम्बा सङ्कलनका लागि गाउँपालिका क्षेत्रका शिक्षक, अभिभावक र विद्यार्थी लेक गएपछि विद्यालय बन्द भएका हुन् । यार्चागुम्बा  सङ्कलनको ‘सिजन’ सुरु भएकाले जेठ ४ गतेदेखि पालिकाभरिका विद्यालय २० दिनका लागि बन्द गरिएको गाउँपालिकाका शिक्षा शाखा अधिकृत वीरेन्द्रसिंह साउँदले जानकारी दिनुभयो । बर्खे बिदाबाट मिलान गर्ने गरी हाल विद्यालय बन्द गरिएका र यही जेठ २४ गते विद्यालय खुल्ने अधिकृत साउँदले बताउनुभयो ।

जडीबुटी सङ्कलन गरिने भएकाले हरेक वर्ष यही समयमा अधिकांश विद्यालय बन्द हुने गरेका छन् । गाउँपालिकाभरिका २२ वटै सामुदायिक विद्यालयमा अध्यननरत अधिकांश विद्यार्थी यार्सालगायत अन्य जडीबुटी सङ्कलनका लागि अभिभावकसँगै लेकतिर जाने गरेका छन् । अपिहिमाल गाउँपालिका वडा नम्बर २ का स्थानीय गगनसिंह लोथ्याल यार्चागुम्बा सङ्कलन गरेर केटाकेटी पढाउन र अन्य आवश्यकता पूर्तिका लागि आर्थिक जोहो गर्न हरेक वर्ष लेक जानुपर्ने बाध्यता रहेको बताउँछन् ।

अन्न उत्पादन कम हुने भएकाले स्थानीयले जेठ–असारमा सङ्कलन गरिएको जडीबुटी बेचेर वर्षभरिको खर्च चलाउँदै आएका छन् । त्यसका लागि कतिपय घरमा ताल्चा लगाएर लेकतिर जाने गरेका छन् । यहाँ वर्षौदेखि यसरी नै यार्चागुम्बा खोज्ने गरिन्छ । खेतबाट उत्पादन हुने अन्नबाली तीन महिना पनि राम्रोसँग खान नपुग्ने भएकाले आफूहरूले यस्तो काम गर्नु परेको लोथ्यालको भनाइ छ । यार्सागुम्बा सङ्कलनकै लागि काठमाडौँ, धनगढी, दार्चुला सदरमुकाम खलङ्गामा अध्ययन गर्न गएका विद्यार्थीसमेत पाटन क्षेत्रमा पुगेको बताइएको छ ।

यहाँका स्थानीय वैशाख अन्तिमसाता नै यार्चागुम्बा सङ्कलनका लागि पाटन गइसकेका छन् । छोटो समयमा राम्रो आम्दानी हुने मुख्य स्रोत भएकाले पनि यहाँका हरेक घरघरबाट पाटन जाने गरिएको छ ।

जिल्लामा सबैभन्दा बढी अपिहिमालको लोलु, रिङ्देपानी, सतगङ्गा कालीढुङ्गा, काटै, घट्टेखोला, धरमघर, क्षति, सातगङ्गा, चाइमटेलालगायत क्षेत्रमा सयौँ सङ्कलकहरू पुगेका छन् । यस्तै, व्याँस गाउँपालिकाको अपिफेद, दोपाखे, दुधिवनलगायतका ठाउँमा यार्चागुम्बा सङ्कलन हुने गर्छ ।

जिल्लामा अपी नाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्चागुम्बा सङ्कलनका लागि हरेक वर्ष अनुमतिपत्र जारी गर्ने गर्छ, तर सङ्कलकहरू लेक पुगिसक्दा पनि सो कार्यालयबाट हालसम्म करिब ७०० जतिले मात्रै अनुमति लिएका छन् । कार्यालयले जिल्लाका १० वटा ठाउँबाट सङ्कलन अनुमतिपत्र जारी गरिरहेको अपी नाम्पा संरक्षण क्षेत्र कार्यालयका प्रमुख  विनयकुमार झाले बताउनुभएको छ । जिल्लाबाट हरेक वर्ष पाँचदेखि सात क्विन्टलसम्म यार्चागुम्बा निकासी हुने गरेको संरक्षण क्षेत्र कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?