दार्चुला । सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीका सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआईजी) प्रदिपकुमार पालले दार्चुलाको नेपाल–चीन सीमा क्षेत्र टिंकरमा रहेको बिओपीको स्थलगत अनुगमन निरीक्षण गर्नु भएको छ ।
सुदूरपश्चिम प्रदेश सशस्त्र प्रहरी प्रमुखको जिम्मेवारीमा आउनु भएका डिआईजी पालले शुक्रवार (हिजो) ब्याँस गाउँपालिका वडा नम्बर १ टिंकर छ्यालेकमा रहेको सशस्त्र प्रहरीको बिओपीको आन्तरिक र चीनसंगको सुरक्षा अवस्थाका बारेमा जानकारी लिनु भएको हो । शुक्रवार विहानै भारतको बाटो हुँदै दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेल, डिआईजी प्रदिपकुमार पाल, सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाका गणपति देवराज जोशी, सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म छाङ्रुका निमित्त गुल्मपति सशस्त्र प्रहरी निरिक्षक खगेन्द्र ओझा लगायतको टोली छाङ्रु हुँदै टिंकर बिओपी पुगेको हो ।
टोलीले बिओपीको अवस्था, चीनसंगको सीमा सुरक्षा, ५० नम्बर गुल्म छाङ्रुको आन्तरिक सुरक्षा अवस्था र भारतसंगको सीमा सुरक्षाका विषयमा जानकारी लिने बताइएको छ । सशस्त्र प्रहरी प्रदेश प्रमुख भएर आउनु भएका डिआईजी पालले दार्चुलामा रहेका सशस्त्र प्रहरीका बिओपीहरु, गुल्म र गणको आन्तरिक तथा बाह्य सुरक्षाको अवस्थाको बारेमा जानकारी लिनु हुने सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाका सूचना अधिकारी एवम् सशस्त्र प्रहरी नायव उपरीक्षक दिपकराज भट्टले जानकारी दिनुभयो ।
बाक्लो हिँउ जमेपछि गत मङ्सिरको पहिलो साता टिंकरबाट छाङ्रु झरेको सशस्त्र प्रहरी बिओपीको टोली वैशाख २१ गते चीनसंगको सीमा सुरक्षाका लागि पुनः बिओपी टिंकरमा उक्लिएको छ । सशस्त्र प्रहरी बल नेपालले दार्चुलामा आफ्ना संरचनाहरु खडा गरेर भारत र चीनसंगको सीमा क्षेत्रमा सुरक्षा प्रदान गरिरहेको छ । सशस्त्र प्रहरीले भारतसंगको सीमा क्षेत्र ब्याँसको छाङ्रुमा गुल्म, जौलजिवीमा प्रस्तावित गुल्म, दुम्लिङ, सुन्सेरा, दत्तु र लालीमा बिओपी स्थापना गरी सुरक्षा प्रदान गरिरहेको छ, भने चीनसंगको सीमा क्षेत्र टिंकरको छ्यालेकमा बिओपी स्थापना गरी सुरक्षा दिइरहेको छ । हाल चीनसंग जोडिएको ताक्लाकोट नाका बाक्लो हिँउ जमेका कारण बन्द छ ।





प्रतिक्रिया