दार्चुला । आज पनि देशका केही ठाउँमा वर्षाको सम्भावना छ । बिहान सुदूरपश्चिमसहित कर्णाली प्रदेशका केही ठाउँहरुमा मेघगर्जन र चट्याङसहित पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज बिहानैबाट दार्चुला जिल्लाभरी वर्षा भइरहेको छ त्यस्तै बैतडी, डडेलधुरा, अछाम, हुम्लालगायत जिल्लामा बिहान वर्षा भएको महाशाखाका मौसमविद् सरोज पुडासैनीले जानकारी दिनुभयो ।आज दिउँसो कोशी, बागमती प्रदेशलगायत देशका उच्च पहाडी भागका थोरै ठाउँ तथा हिमाली क्षेत्रका केही ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ ।
मौसमी प्रणाली पश्चिमबाट विस्तारै पूर्वतर्फ सर्दै गरेको महाशाखाले जनाएको छ । देशका पूर्वी भागमा पनि आकाशमा बादल लागेको छ । काठमाण्डौ उपत्यकाका केही ठाउँहरुमा पनि छिटपुट पानी पर्ने सम्भावना छ ।
यस वर्षको मनसुन औसत समयभन्दा झन्डै १० दिनअघि नै भारतको केरला आइपुगेको छ । केरलाबाट कोशी प्रदेश हुँदै नेपालमा मनसुन भित्रिने गर्छ ।नेपालमा मनसुन भित्रिने औसत मिति जुन १३ तारिख अर्थात् यस वर्ष जेठ ३० गते हो । तर अब बीचमा नरोकिएर आएमा यस वर्ष औसतभन्दा झन्डै डेढ हप्ताअघि नै मनसुन आइपुग्ने सम्भावना देखिएको छ ।





प्रतिक्रिया