दार्चुला । १८ औँ गणतन्त्र दिवस दार्चुलामा पनि उत्साहपूर्वक मनाइएको छ ।
दिवसको अवसरमा जिल्ला सदरमुकाम खंलगामा प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको थियो ।जिल्ला सदरमुकाम परिक्रमा गरेर प्रभातफेरी कार्यक्रम महाकाली नगरपालिकाको सभाहलमा पुगेर कोणसभामा परिणत भएको थियो ।
जिल्ला समन्वय समिति दार्चुलाका प्रमुख महादेब बडूको अध्यक्षतामा आयोजित कार्यक्रममा महाकाली नगरपालिकाका नगर उप–प्रमुख दुर्गा कुमारी खत्री बिष्ट, जिल्ला प्रशासन कार्यालय दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेल, सुरक्षा निकायका प्रमुख, कार्यालय प्रमुखहरु, जनप्रतिनिधि, कर्मचारी, समाजसेवी, शिक्षक विद्यार्थी, सञ्चारकर्मी लगायत सरोकारवालाहरुको आतिथ्यता एंव उपस्थिति रहेको थियो ।
तत्कालीन सात राजनीतिक दलले निरङ्कुश राजतन्त्रकाविरुद्ध आह्वान गरेको शान्तिपूर्ण जनआन्दोलन र विद्रोही नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले गरेको सशस्त्र सङ्घर्षका उपलब्धिका रूपमा देशले गणतन्त्रको अभ्यास गरेको १८ वर्ष भएको छ । विसं २०६५ जेठ १५ गते जननिर्वाचित संविधानसभाको पहिलो बैठकद्वारा २४० वर्षदेखि नेपालमा कायम रहेको निरङ्कुश राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको सोही ऐतिहासिक दिनको सम्झनालाई चिरस्थायी बनाउन गणतन्त्र दिवस मनाउने गरिएको छ ।
जेठ १५ गतेकै दिन नेपाली जनतालाई स्वतन्त्रता, उदार सामाजिक न्यायसहितको समावेशी समानुपातिक लोकतान्त्रिक गणतन्त्रसहित नागरिक सर्वोच्चता प्राप्त भएको थियो । गणतन्त्र दिवस वंशीयतन्त्रलाई जनताले जितेको उत्सव पनि हो ।सङ्घीय लोकतान्त्रिक गणतन्त्रले समुन्नत भविष्यका लागि एकताबद्ध भएर अगाडि जान जनतालाई सम्पूर्ण राजनीतिक अधिकारको सुनिश्चितता प्रदान गरेको छ । नागरिकका समस्या शिक्षा, स्वास्थ्य, सार्वजनिक यातायात, सामाजिक सुरक्षाको प्रत्याभूतिसहित गरिबीको अन्त्यसँगै विश्वमञ्चमा नेपाल र नेपालीको प्रतिष्ठालाई उँचो बनाउन पर्ने लोकतान्त्रिक गणतन्त्रको प्रथम कार्यभार रहेको छ ।
गणतन्त्र दिवसको अवसरमा दार्चुलाका नौँ वटै स्थानीय तहहरुले विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै दिवस मनाएको खबरहरु प्राप्त भएका छन् ।





प्रतिक्रिया