दार्चुला । डोटीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने आठ जना घाईते भएका छन् ।
जिल्लाको केआईसिंह गाउँपालिका वडा नम्बर ५ केदार गाउँमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अन्य आठजना घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालयका अनुसार आइतवार बिहान बोगटान फुड्सिलको गगुडाबाट दिपायलतर्फ जादैै गरेको सुपप्र ०१००१ ज १४६४ नम्बरको जीप दुर्घटना हुँदा बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर ६ गगुडाका ४२ वर्षीय मीन बमको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि शैलेश्वरी अस्पताल दिपायल पु¥याएको थियो। लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनामा घाईते जीप चालकसहित आठजनाको शैलेश्वरी अस्पताल दिपायलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।




