दार्चुला । जिल्ला प्रशासन कार्यालय दार्चुलाले ब्याँस गाउँपालिकाका विभिन्न वडामा घरदैलो अभियानबाट ३ सय ६६ नागरिकलाई सेवा प्रदान गरेको छ ।
नागरिकलाई घरदैलोमा नै सेवा दिने उद्धेश्यले जिल्लाकै दुर्गम स्थानीय तह ब्याँस गाउँपालिकामा घरदैलो सेवा सञ्चालन गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी मोहन सिंह धामीले जानकारी दिनुभएको छ । घरदैलो कार्यक्रम अन्तरगत जिल्ला प्रशासन कार्यालयसम्म पुग्न नसक्ने अशक्त, अंपाग र ज्येष्ठ नागरिकहरुलाई घरदैलोमै सेवा दिइएको उहाँले बताउनुभयो ।
गणतन्त्र दिवसको अवसरमा जेठ १५, १६ र १७ गते गाउँपालिकाका विभिन्न वडाहरुमा पुगेर १ सय ६१ जनाको नागरिकता प्रमाणपत्र तथा २ सय ५ जनाको राष्ट्रिय परिचयपत्र विवरण दर्ता संकलन कार्य सम्पन्न गरिएको सहायक प्रमुख जिल्ला अधिकारी धामीले बताउनुभयो । उहाँका अनुसार १ सय ३८ जना ज्येष्ठ नागरिक, २ जना ज्येष्ठ अंपागता भएका नागरिकहरुको नागरिकता तथा प्रतिलिपी जारी गरिएको छ । त्यस्तै १ सय ९७ जना ज्येष्ठ नागरिक र ५ जना अंपागता भएका नागरिकहरुको राष्ट्रिय परिचयपत्र विवरण दर्ता र कार्ड वितरण गरिएको बताइएको छ ।
अभियानमा गाउँपालिकाको वडा नम्बर ६ बस्ने ज्येष्ठ नागरिक ९७ वर्षीया लालु देवी भट्टलाई घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र दिइएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।






प्रतिक्रिया