दार्चुला । दार्चुलामा अगामी शुक्रवार विपद् व्यवस्थापन समितिको बैठक बस्ने भएको छ ।
भौगोलिक हिसावले विपद्को जोखिम रहेको दार्चुलामा विपद् व्यवस्थापन समिति गठन गरेर पूर्वतयारी भइरहेको जिल्ला विपद् व्यवस्थापन समिति अध्यक्ष एंव प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिनुभयो । जिल्ला विपद् व्यवस्थापन समितिको आयोजनामा शुक्रवार जिल्लाका नौँ वटै स्थानीय तहका विपद् फोकल पर्सनहरुसंग भर्चुअल माध्यमबाट विपद् पूर्वतयारीको विषयमा छलफल गरिने उहाँले बताउनुभयो ।
जिल्लाको ब्याँस गाउँपालिका, दुहुँ गाउँपालिका ,नौगाड गाउँपालिका, मालिकार्जुन गाउँपालिका, अपिहिमाल गाउँपालिका र मार्मा गाउँपालिका पहिरोको उच्च जोखिममा रहेका छन् । त्यस्तै महाकाली नगरपालिका, शैल्यशिखर नगरपालिकाका, नौगाड गाउँपालिका, मार्मा गाउँपालिका र लेकम गाउँपालिका बाढीको जोखिममा रहेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिले सम्भावित क्षेत्रहरु छनोट गरी आवश्यक तयारी गरिरहेको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाले पनी अहिले प्रहरी स्वयमसेवकहरुलाई,विपद् खोज उद्धार र पूर्वतयारीको विषयमा प्रशिक्षण गराइरहेको छ । जल तथा मौसम विभागले गत वर्षको तुलनामा यस वर्षको बर्खायाममा बढी वर्षा हुने पूर्वाअनुमान गरेकाले जिल्ला विपद् व्यवस्थापन समिति दार्चुलाले नौँ वटै स्थानीय तह एंव जिल्लावासी नागरिकहरुमा पनी विपद् न्युनिकरण तथा रोकथामको लागि आवश्यक सहयोग गर्न अनुरोध गरेको छ । दार्चुलामा बर्खामासमा विषेश गरी बाढी पहिरो, सवारी दुर्घटना र भूक्षयको प्रकोप बढी हुने गरेको पाइएको छ ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाले विपद्मा आवश्यक पर्ने साम्रगीहरु माग गरेको छ, भने नौँ वटै स्थानीय तहमा विपद्को जोखिम रहेको क्षेत्र पहिचान गरिरहेको छ । पहिरोको जोखिम रहेका क्षेत्रहरुमा तारजाली तथा अन्य तत्काल आवश्यक पर्ने साम्रगीहरु हस्तान्तरण गर्ने जिल्ला विपद् व्यवस्थापन समिति अध्यक्ष एव प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले बताउनुभयो ।
त्यस्तै आर्थिक बर्ष २०७९।८० देखि चालु आर्थिक वर्षको हाल सम्म जिल्लाका ९ वटै स्थानीय तहमा बाढी पहिरो तथा हिमपहिरोमा परि १८ जनाको ज्यान गएको छ। बाढीपहिरोमा परि अन्य ८ जना बेपत्ता भएका छन्, भने १५ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाको तथ्याङ्कले देखाएको छ। आर्थिक वर्ष २०७९।८० मा जिल्लाका ९ वटै स्थानीय तहमा बाढी तथा पहिरोमा परि १० जनाकोे मृत्यु भएको छ, भने ११ जना घाइते र ८ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी छत्रबहादुर रावतले जानकारी दिनुभयो । उक्त वर्ष जिल्लाको महाकाली नगरपालिकामा बाढीमा परि २ जनाको मृत्यु, ३ जना घाइते र ८ जना बेपत्ता तथा पहिरोमा परि ३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाको तथ्याङ्क रहेको छ। सोहि वर्ष शैल्यशिखर नगरपालिकामा पहिरोमा परि १ जना घाइते भएका छन् ।
नौगाड गाउँपालिकामा पहिरोमा परि ४ जनाको मृत्यु र ५ जना घाइते भएको प्रहरीको तथ्याङ्क रहेको छ। व्याँस गाउँपालिकामा पहिरोमा परि १ जनाको मृत्यु र १ जना घाइते भएका छन् भने हिमपहिरोमा परि ५ जनाको मृत्यु भएको र दुहुँ गाउँपालिकामा पहिरोमा परि १ जना घाइते भएको प्रहरीको तथ्याङ्क रहेको छ। आर्थिक बर्ष २०७९।८० मा जिल्लाका ९ वटै स्थानीय तहमा बाढीमा परि २ जनाको मृत्यु, ३ जना घाइते र ८ जना बेपत्ता भएका छन । पहिरोमा परि ८ जनाको मृत्यु र ८ जना घाइते तथा हिमपहिरोमा परि ५ जनाको मृत्यु भएको छ। आर्थिक वर्ष २०८०।८१ मा जिल्लाका ९ वटै स्थानीय तहमा बाढी तथा पहिरोमा परि २ जना घाईते भएको प्रहरीको तथ्याङ्क रहेको छ।
सो वर्ष जिल्लाको मार्मा गाउँपालिकामा बाढीमा परि २ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी छत्र बहादुर रावतले बताउनुभयो । त्यस्तै आर्थिक बर्ष २०८१।८२ को हाल सम्म जिल्ला भरि बाढी पहिरोमा परि १ जनाको मृत्यु र ४ जना घाइते भएको प्रहरीको तथ्याङ्क रहेको छ। चालु आर्थिक बर्षको हाल सम्म जिल्लाको मालिकार्जुन गाउँपालिकामा पहिरोमा परि २ जना, अपिहिमाल गाउँपालिकामा १ जना र दुहुँ गाउँपालिकामा १ जना घाइते भएका छन, भने पहिरोमै परि व्याँस गाउँपालिकामा १ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।





प्रतिक्रिया