दार्चुला । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नेपाली सेनाका एक हवल्दारलाई जिलेटिन र डेटोनेटरसहित पक्राउ गरेको छ । आइतवार दिउँसो धारचुलाबाट नेपाल आउदै गर्दा एसएसबीले चेकजाँचको क्रममा सेनाका हवल्दार यामवहादुर खत्रीलाई विस्फोटक पदार्थसहित पक्राउ गरेको हो ।
टिंकर सडक निर्माणमा खटिएका खत्री व्याँसको दुम्लिङ–थिइ क्षेत्रबाट घरविदा जानेक्रममा थिए । सडक निर्माणस्थलबाट भारतीय बाटो भएर धारचुला पुगेका खत्रीलाई महाकालीको झोलुंगे पुल हुँदै नेपाल आउनेक्रममा विस्फोटक पदार्थसहित एसएसबीले पक्राउ गरेको जानकारी आएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी छत्र बहादुर रावतले जानकारी दिनुभयो ।
खत्रीको झोलाबाट एक किलोग्राम जिलेटिन र पाँच थान डेटोनेटर बरामद गरिएको जानकारी भारतीय प्रशासनले दिएको उहाँले बताउनुभयो । घरविदा जानेक्रममा सडक निर्माणस्थलबाट लुकाएर खत्रीले जिलेटिन र डेटोनेटर बोकेका थिए । नेपाली सेनामा १७ वर्षदेखि कार्यरत खत्रीले किन अन्तर्राष्ट्रिय सिमामा जिलेटिन र डेटोनेटर बोक्ने जोखिमपूर्ण काम गरे भन्नेबारे खुलेको छैन ।
एसएसबीले खत्रीलाई थप अनुसन्धानका लागि उत्तराखण्ड प्रहरीको धारचुला कोतवाली कार्यालयमा बुझाएको छ । पिथौरागढ जिल्लाका प्रहरी प्रमुख एसपी रेखा यादवको निर्देशनमा धारचुलास्थित कोतवाली प्रमुख बृजेन्द्र शाहको नेतृत्वमा घटनाको अनुसन्धान भइरहेको जनाइएको छ ।
उत्तराखण्ड प्रहरीले सोमबार जिल्ला प्रहरी कार्यालय दार्चुलालाई यसबारे लिखित जानकारी गराएको प्रहरी निरीक्षक रावतले बताउनुभयो । जिल्लास्थित स्थानीय प्रशासन र सुरक्षा निकायहरुले घटनाबारे भारतीय सुरक्षा निकायहरुसंग जानकारी लिएका छन् ।
भारतीय पक्षले नेपाली पक्षलाई बुझाउदा खत्रीमाथि सैनिक कोर्टमार्शल अनुसार मुद्दा चलाइने भए पनि भारतीय प्रहरीले नेपाललाई बुझाउन मानेको छैन ।





प्रतिक्रिया