दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२-८३ का लागि नीति तथा कार्यक्रम पारित गरेको छ। नगरसभाको १७औँ अधिवेशनको पहिलो बैठक शुक्रबार नगरपालिकाको सभाहलमा सम्पन्न भएको हो।
नगरपालिकाको सभाहलमा नगरसभाको १७औँ नगर अधिवेसनको पहिलो बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शुरेन्द्र बहादुर बिष्टले जानकारी दिनुभयो । बैठकमा शैल्यशिखर नगरपालिकाका नगर प्रमुख विजय धामीले निति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।
प्रमुख प्रशासकीय अधिकृत विष्टका अनुसार बैठकमा न्यायिक समितिको वार्षिक प्रतिवेदन र विभिन्न संवैधानिक निकायहरूबाट प्राप्त विषयमा समेत विस्तृत छलफल गरिएको थियो। साथै, आगामी आर्थिक वर्षको बजेट असार १० गतेसम्म तयार गर्ने गरी छलफल सुरु गरिएको जानकारी दिइएको छ।
नगर अधिवेशनको पहिलो बैठकमा नगर उप–प्रमुख शान्ति खडायत, वडा अध्यक्षहरू, जनप्रतिनिधिहरू, राजनीतिक दलका प्रतिनिधिहरू, बुद्धिजीवी, स्थानीय बासिन्दा, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायत सरोकारवाला व्यक्तिहरूको सहभागिता रहेको थियो।
नगरपालिकाले पारित नीति तथा कार्यक्रममार्फत आगामी वर्षको विकास योजना, पूर्वाधार निर्माण, सेवा प्रवाह, शिक्षा, स्वास्थ्य, पर्यटन प्रवर्द्धन लगायतका प्राथमिकताहरू समेटिएको बताइएको छ।





प्रतिक्रिया