दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकाका तीन वटा वडामा पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
गुड नेईवर्स ईन्टरनेश्नलको आर्थिक सहयोग मालिकार्जुन गाउँपालिकाको समन्वय र सामुदायिक ग्रामिण विकास समाज नेपालको आयोजनामा वडा नम्बर ६ उकु, वडा नम्बर ३ मड र वडा नम्बर २ ठिङधारमा एक÷एक दिने पशु स्वास्थ्य शिविर सम्पन्न भएको हो
शिविरबाट तीन वटै वडाका २ हजार ४ सय ४५ बाख्राहरुलाई खोप तथा औषधि वितरण गरिएको एकिकृत सामुदायिक विकास परियोजना अधिकृत मनोरथ जोशीले जानकारी दिनुभयो । जसअनुसार वडा जेठ २८ गते वडा नम्बर ६ उकुमा सञ्चालन गरिएको शिविरबाट ४ सय ५० बाख्राहरुलाई खोप दिइएको छ । त्यस्तै २९ गते वडा नम्बर ३ मडमा सम्पन्न शिविरबाट ५ सय बाख्राहरुलाई खोप, उपचार सहित २ सय १० जना पशुपालक किसानलाई औषधि वितरण गरिएको छ ।
त्यस्तै हिजो वडा नम्बर २ ठिङधार (चौरोेसेन) मा सम्पन्न शिविरबाट १ हजार ५ सय ५ वटा बाख्राहरुलाई बाह्य परजिवी नियन्त्रणको खोप लगाइएको अधिकृत जोशीले बताउनुभयो । पशु स्वास्थ्य शिविर मार्फत बाख्राहरुमा देखिएको रोग र बाह्य परजिवीको उपचार गरिएको छ ।
शिविरमा बाख्रालाई बाह्य परजिवी नियन्त्रणको खोपका साथै जुकाको औषधि र भिटामिन, क्याल्सियम लगायतका औषधिहरु वितरण गरिएको उहाँले बताउनुभयो ।





प्रतिक्रिया