दार्चुला । भारतका कमलेश दानुका हत्यारा पक्राउ नपरेको भन्दै भोलि धारचुला बजार र नेपाल भारत जोड्ने सीमा पुल बन्द गर्ने घोषणा गरिएको छ ।
शनिवार अनुवाल समुदायका अध्यक्ष गुमान सिंह बिष्टको नेतृत्वमा भारतका विभिन्न संघसंस्थाहरूले पिथौरागढ जिल्लाका उप–जिल्लाधिकारी मनजित सिंहलाई ज्ञापनपत्र बुझाउँदै दबाव स्वरुप धारचुला बजार र नेपाल भारत जोड्ने सीमा पुल बन्दको घोषणा गरेका हुन् ।
ज्ञापनपत्र बुझाउनेमा राज्यमन्त्री अशोक नवियाल, राजेन्द्र नेगी, नवीन तलाल, नन्द विष्ट, जीवन बिष्ट, गुमान बिष्ट, रुकुम विष्ट, राजेश दानु, मनोज नागयाल, गोवर्धन दानु, देवेन्द्र सिंह आदि रहेका छन् । जुन ७ तारिखको दिन धारचुला बजारमा कमलेशको चक्कु प्रहार गरि हत्या गरिएको थियो । घटनामा संलग्न ३ जनाविरुद्ध पीडित परिवारले एफआईआर दर्ता गरेको छ । घटनापछि हत्याराहरु फरार रहेका छन् । उनीहरु नेपाल प्रवेश गरेको आशंका समेत गरिएको र हत्याराको सबैतिरबाट खोजी भइरहेको भारतीय प्रशासनले जनाएको छ ।
तर जिल्ला प्रशासन कार्यालय दार्चुलालाई भने सीमा पुल बन्द हुने विषयमा कुनैपनी जानकारी भारतिय पक्षबाट नआएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिनुभयो ।





प्रतिक्रिया