दार्चुला । दार्चुलाको नौगाड गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ लाई कृषि विकास वर्षका रुपमा मनाउने भएको छ । गाउँपालिकाले आगामी आर्थिक बर्षको लागि कृषि तथा पशुपन्छी क्षेत्र तर्फ १ करोड ३३ लाख ९० हजारको बजेट विनियोजन गरेको छ।
गाउँपालिकाले यान्त्रिकरण प्रवद्र्धन कार्यक्रम अन्तर्गत २५ लाख ,स्याउ पकेट स्थापना एंव प्रवद्र्धनको लागि ६ लाख, बाख्रा श्रोत केन्द्र स्थापनाको लागि ५ लाख ५० हजार ,एक वडा एक उत्पादन कार्यक्रम अन्तर्गत ६ लाख,किसान सूचीकरण को लागि १ लाख बजेट छुट्याएको छ।
नौगाड गाउँपालिका र नेपाल सरकार सहित अन्य विदेशी निकायको सहकार्यमा संचालित जलवायु परिवर्तन स्थानीय अनुकुलन परियोजना (LACCP) को लागि गाउँपालिका अन्तरगत ५० लाख विनियोजन गरिएको छ। त्यस्तै विद्यालय दिवा खाजा कार्यक्रमको लागि ५ लाख,गाउँपालिका र कृषि ज्ञान केन्द्र ,दार्चुलाको सहकार्यमा एक पालिका एक विशेष उत्पादन कार्यक्रम अन्तर्गत कृषि ज्ञान केन्द्रले ४० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको नौगाड गाउँपालिकाका कृषि अधिकृत प्रकाश धामीले जानकारी दिनुभयो ।
समग्र कार्यक्रमहरुबाट नौगाड गाउँपालिकामा कृषि क्षेत्रको लागि यान्त्रिकरण प्रवद्र्धन कार्यक्रमलाई मुख्य उपलब्धिको रुपमा लिइएको छ। कृषि यान्त्रिकरण कार्यक्रम मार्फत नयाँ प्रविधिहरुको विस्तार,कम लागत,छिटो छरितो हुने विश्वास रहेको गाउँपालिका अध्यक्ष दलजित सिह धामीले बताउनुभयो । त्यस्तै गाउँपालिका भरी स्थापना भएका करिब १५० कृषक समुह,२०० कृषि फर्म सहित कृषि सहकारीहरुको समन्वय,सहकार्य एंव सह–अस्तित्वका आधारमा कृषि कार्यक्रमहरु सन्चालन हुनेछन ।
गाउँपालिकाकले जिल्लाकै उत्कृष्ट डाडाबाघ कृषक समुह नौगाड-२ दल्लेखलाई कृषि पकेटको रुपमा घोषण गर्दै उक्त क्षेत्रलाई कृषि सिकाई केन्द्रको रुपमा स्थापना गर्ने बताएको छ । कृषि संकलन केन्द्र ,कोल्ड स्टोर,उत्पादित तरकारीमा ढुवानी अनुदान सहित अन्य कार्यक्रमहरु सञ्चालनमा रहेका छन । विगतका वर्षदेखिनै नौगाडले कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राख्दै आएको छ ।
नौगाड-१ स्थित मानाकोट र जात्रामा स्याउको प्रबल सम्भावना भएकाले बिगत देखि नै स्याउ पकेट स्थापना गरि कार्यक्रम सन्चालनमा रहेको छ। वडा न ५ र ६ मा माहुरिको प्रबल सम्भावना भएकाले युवा लक्षित माहुरी पालन प्रवद्र्धन कार्यक्रम सन्चालन गरिएका छन । स्थानीय उत्पादन अन्तर्गत तरकारीहरु कृषक समूह मार्फत विद्यालयमा दिने गरेको कृषि शाखा अधिकृत धामीले बताउनुभएको छ । समग्र र पशुपन्छी बिकासको लागि नौगाड गाउँपालिकाले कृषि अधिकृत सहित प्रतेक वडामा २ जना कृषि प्राविधिक र २ जना पशु प्राविधिक गरेर जम्मा २८ जना प्राविधिकहरुको व्यवस्थापन गरेको छ।
नौगाड गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ४४ करोड ८४ लाख ८६ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।





प्रतिक्रिया