दार्चुला । दार्चुला सदरमुकाम खलंगा बजार क्षेत्रमा देखिएको दूषित पानी आपूर्तिको समस्या समाधानका लागि सर्वपक्षीय बैठक सम्पन्न भएको छ। प्रमुख जिल्ला अधिकारी अनिल पौडेलका अध्यक्षतामा आईतबार बसेको सर्वपक्षीय बैठकले दुषित खानेपानी आपुर्तीको समस्या समाधानको लागि पहल गर्ने निर्णय गरेको हो ।
बैठकले खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बैतडीका फिल्ड कार्यालय प्रमुख इन्जिनियर पुरशुराम शाह, जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख बिरेन्द्र प्रसाद भट्ट तथा खानेपानी उपभोक्ता समितिका तर्फबाट प्राविधिक देवकी ठगुन्नाले मुहान शुद्धिकरणका उपायहरुको स्थलगत अनुगन गर्ने निणर्य गरेको छ।
त्यस्तै बजार क्षेत्रमा रहेका सबै धाराहरूबाट जिल्ला स्वास्थ्य कार्यालय र महाकाली नगरपालिकाको शाखाले पानीको नमुना सङ्कलन गरी अवस्था विश्लेषण गर्ने, खानेपानी उपभोक्ता समितिका तर्फबाट सचेतिकरणको लागि पानी शुद्धिकरण गरी पिउन अनुरोध गरी सूचना जारी गर्ने, पानी शुद्धिकरण, मुल व्यवस्थापन, मुलको आसपास क्षेत्रमा सरसफाईको प्रबन्ध समय समयमा खानेपानी उपभोक्ता समितिले यथोचित रुपमा गर्ने लगायतका निणर्यहरु गरिएको छ।
बैठकमा पमुख जिल्ला अधिकारी अनिल पौडेल, महाकाली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इश्वरी ठगुन्ना, जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख बिरेन्द्र प्रसाद भट्ट, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बैतडीका फिल्ड कार्यालय प्रमुख इन्जिनियर परशुराम शाह लगायत नगरपालिकाका जनप्रतिनिधि, स्वास्थ्यसंस्था, उपभोक्ता समिति, राजनीतिक दल, नागरिक समाज, तथा अन्य सरोकारवाला निकायहरूको सहभागिता रहेको थियो।





प्रतिक्रिया