दार्चुला । दार्चुलाको व्यास गाउँपालिका–१ मा पर्ने नेपाल–चीन सीमानाका साउन ७ देखि ९ गते सम्म खुल्ने भएको छ। चीनको तिब्बतस्थित ताक्लाकोटमा रहेको स्थानीय प्रशासनले छाङरु र टिङ्करका व्यापारीलाई नाका खुल्नेबारे जानकारी गराएपछि टिङ्करभन्ज्याङ १ नम्बर पिल्लर सीमानाका खुल्ने भएको हो। नाका खुल्ने भएपछि यहाँका व्यापारी व्यापार व्यवसायका लागि चीनको ताक्लाकोट जाने तयारीमा छन्।
चिनको तिब्बतको स्थानीय प्रशासनले ब्याँस गाउँपालिकाका छाङरु,तिङकरका व्यापारीलाई २०२५ जुलाई २३-२४-२५ (साउन ७, ८ र ९ गते) नाका खुल्ने जानकारी गराएको ब्याँस १ का दानसिह टिङ्करिले बताउनुभयो । नाका खुल्ने जानकारी पाएपछि ब्याँस १ छाङरु टिङकरका स्थानीयले नेपाल चीन सिमास्तम्ब १ नम्बर पिलर भन्दा ५/६ किलोमीटर तल डोङ्काट, टाटामा चीनको तिब्बत लैजाने सरसमान राखेका छन् ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाको तथ्यांक अनुसार यो बर्ष दार्चुला जिल्लाबाट चीन तिब्बत जानको लागि ब्याँसका ५६ जनाले र ब्याँस बाहेकका दार्चुलाका अन्य स्थानीय तहका ४९ जनाले नयाँ पास बनाएका छन् । गत बर्ष चीन तिब्बत प्रवेश अनुमतिपत्र बनाएका ब्याँसका १४३ जना र ब्याँस बाहेक दार्चुलाका अन्य स्थानीयतहका ८ जना गरि जम्मा १५१ जनाले यो बर्ष चीन तिब्बत प्रवेश अनुमतिपत्र नविकरण गरेका छन् ।
चीनले टिंकर भञ्ज्याङस्थित १ नम्बर सीमास्तम्भ नजिकसम्म सडक निर्माण गरेको छ । चीनले सीमास्तम्भ भन्दा आधा घण्टाको दूरीमा सापु भन्ने ठाउँमा आफ्ना सुरक्षाकर्मी बस्ने भवनको संरचना पनि निर्माण गरेको र सुरक्षाकर्मीको भवन र पोष्टको संरचनामा यात्रुलाई चेकजाँच गर्ने मेसिन र उपकरण जोडेकोछ । छाङरु तिङकरका स्थानीयका अनुसार नेपाल बाट जाने व्यापारीले सापुमा रहेको चेकपोस्टमा सामान चेकजाँच र आफ्नो पास देखाएपछि मात्रै अगाडि जान पाईन्छ ।
नेपालतर्फ ब्याँस गाउँपालिकाको वडा नम्बर १ तिंकरको छियालेकमा सशस्त्र प्रहरीको बिओपी र नेपाल प्रहरीको इलाका प्रहरी कार्यालय सञ्चालनमा ल्याइएको छ । छियालेकबाट करिब ६/७ किलोमीटर अगाडि ५ घण्टाको दूरीमा नेपाल-चीन सीमास्तम्भ १ नम्बर पिलर पर्छ । टिंकरमा अध्यागमन कार्यालय सञ्चालनको माग गरिएको छ।





प्रतिक्रिया