कागजात किर्ते आरोपमा शैल्यशिखरका कृषि शाखा प्रमुख र भेटेरिनरी प्राविधिक पक्राउ

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिकामा सञ्चालित ओखर उत्पादन कार्यक्रमको नाममा फर्जी कागजात प्रयोग गरी बैंक खाताबाट रकम निकाल्ने प्रयास गरेको आरोपमा नगरपालिकाका २ जना कर्मचारी पक्राउ परेका छन्।
नगरपालिकाको वडा नम्बर ६ मा सञ्चालित ओखर पकेट क्षेत्र कार्यक्रम बजेट भुक्तानीको लागि कागजात किर्ते गरेको आरोपमा नगरपालिकाका कृषि शाखा प्रमुख दिपकराज विष्ट र मालिकार्जुन कृषक समुहका अध्यक्ष समेत रहेका भेटेरिनरी प्राविधिक जनकसिंह धामीलाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी छत्रबहादुर रावतले जानकारी दिनुभयो ।

शैल्यशिखर नगरपालिको वडा नम्बर ६ लाई ओखर पकेट क्षेत्र घोषणा गरिएकोमा चालू आर्थिक वर्षमा कृषि कार्यक्रमअन्तर्गत ओखर पकेट क्षेत्रका लागि १२ लाख बजेट आएको थियो । उक्त कार्यक्रम बाफतको भुक्तानी लिन नगरपालिकाका कृषि शाखा प्रमुख विष्ट र कृषक समुहका अध्यक्ष समेत रहेका कृषि प्राविधिक धामीले कृषक समुहका सचिव र कोषाध्यक्षको मृत्यु भइसकेको भन्दै बैंकलाई पत्राचार गरि खाता नवीकरणको प्रयास गरेका थिए। पक्राउ परेका दुबै जना विरुद्ध कागजात किर्ते र अपराधिक विश्वास घात अन्तरगत मुद्धा दर्ता गरि अनुसन्धान भईरहेको प्रहरी निरीक्षक रावतले बताउनुभयो ।

घटना के थियो ?
शैल्यशिखर नगरपालिका वडा नम्बर ६ लाई ओखर पकेट क्षेत्र घोषणा गरिएकोमा चालू आर्थिक वर्षमा कृषि कार्यक्रमअन्तर्गत ओखर पकेट क्षेत्रका लागि १२ लाख बजेट आएको थियो । मालिकार्जुन कृषक समूहसहितका ४ वटा कृषक समूहमार्फत ओखरको बिरुवा रोप्न २ लाख ४० हजार रुपैयाँका दरले अनुदान दिने व्यवस्था गरिएकोमा अन्य तीन समूहले काम सम्पन्न गरेर नगरपालिकाबाट भुक्तानी लगिसकेका थिए भने मालिकार्जुन कृषक समूह आन्तरिक विवादको कारण भुक्तानी रोकिएको थियो । तर, भुक्तानी लिने उद्देश्यले समूहका अध्यक्षले कोषाध्यक्ष र सचिवको मृत्यु घोषणा गरेर बैंक खाता नविकरणको लागि पत्र पठाएपछि विवाद चुलिएको थियो ।

गत असार २३ गते नगरपालिकाको कृषि शाखाबाट ग्लोवल आइएमई बैंक गोकुलेश्वर शाखामा खाता नविकरणको सिफारिस गरिएको पत्र बैंकलाई पठाईन्छ । मालिकार्जुन अगुवा कृषक समुहको नाममा रहेको खाता निष्किृय रहेको हुँदा उक्त समुहको खाता नम्बर २०१०१०१००००३४४ नविकरण गर्नुका साथै उक्त समुहका साविकका कोषाअध्यक्ष जानकी धामी र सचिव मञ्जु धामीको मृत्यु भईसकेको हुँदा अब समुहका नयाँ अध्यक्ष जनक सिंह धामी र सचिव बसन्ती बोहराको हस्ताक्षरबाट सञ्चालन हुने गरि सो खातालाई नविकरण गरिदिन हुन सिफारिस साथ अनुरोध छू, नगरपालिकाका कृषि शाखा प्रमुख दिपकराज विष्टको हस्ताक्षर रहेको उक्त पत्र फर्जी भएको पुष्टि भयोे । पत्रमा मृत्यु भईसकेका भनिएका कृषक समुहका कोषाअध्यक्ष जानकी धामी र सचिव मञ्जु धामी जिवित छन् । तर कृषक समुहको नाममा आएको बजेट भुक्तानीको लागि नगरपालिकाका कृषि प्राविधिक तथा कृषक समुहका अध्यक्ष धामी र कृषि शाखा प्रमुख विष्टले बद्नियत पुर्ण तरिकाले जिउदै नागरिकलाई मृत घोषित गरि खाता नविकरणको लागि सिफारिस गरेका थिए ।
उक्त सिफारिस पत्र बारे बैंकका कर्मचारीले शंका लागि पुष्टि गर्न खोज्दा मृत्यु भईसकेको भनिएका दुबै जना जिवित रहेको पुष्टि हुन्छ ।
वडा कार्यालयको सिफारिश बिनै समूहका अध्यक्षले सिधै बैंकलाई खाता नवीकरणका लागि पत्राचार गरेका थिए । मालिकार्जुन कृषक समूहका अध्यक्ष जनक सिंह धामीले लेखे जस्तो कोषाध्यक्ष र सचिवको मृत्यु नभएको वडा नम्बर ६ का वडा अध्यक्ष जगदीश सिंह धामीले पुष्टि गर्नुभयो ।

वडाध्यक्ष धामीले मृत्यु भइसकेको अवस्थामासमेत वडा कार्यालयले मृत्यु प्रमाणपत्र दिँदै आएकोमा गलत मनसाय राखेर कीर्ते काम भएकाले कारबाहीको दायरामा ल्याउनुपर्ने बताउनुभयो ।

मालिकार्जुन कृषक समूहका अध्यक्ष जनक सिंह धामीले ओखर पकेट क्षेत्र कार्यक्रममा सचिव र कोषाध्यक्षले आफूले बिरुवा नपाएको भन्दै विवाद गरेको दाबी गर्दै दुबै जनाले विवाद गर्दै बैठक बोलाउँदा समेत नआउने अवस्था बनेपछि आवेशमा आएर आफूले नगरपालिकालाई मृत्यु भइसकेको व्योहोराको पत्र लेखेको स्वीकार गरेका थिए ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?