दार्चुला । सुनचाँदी लगायत आभुषणमा लगाईएको असमान कर र भ्याट खारेज गर्न माग गर्दै दार्चुलाका सुनचाँदी व्यवसायी आन्दोलित भएका छन् । सुनमा लगाइएको २ प्रतिशत विलासित कर र बहुमूल्य हिरा पत्थरमा लगाएको १३ प्रतिशत भ्याट खारेज गर्नुपर्ने, सुनको भन्सार कर ६ प्रतिशत कायम गर्नुपर्ने, सुनचाँदीको कारोबारका लागि प्रष्ट नीति नियम निर्माण गर्नुपर्ने लगायतका मागहरु राखेर सुनचाँदी व्यवसायी आन्दोलनमा उत्रेका हुन् ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको केन्द्रीय कार्यक्रम अनुसार दार्चुलामा पनि आन्दोलनका कार्यक्रम जारी रहेको दार्चुला सुनचाँदी व्यवसायी संर्घष समितिका अध्यक्ष सन्तोष दयालीले बताउनुभयो । संघर्ष समितिले बिहीबार (आज) जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै अवैज्ञानिक कर निर्धारण भएको भन्दै आपत्ति जनाएको छ । नेपाल सरकारले सुनचाँदीलाई विसालीताको वस्तुमा राखेर कर र भ्याट दर बढाएको विषयमा गम्भिर ध्यानाकर्षण भएको समितिले जनाएको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघ तथा नेपाल सुनचाँदी रत्न आभुषण महासंघमा आवद्ध सदस्य, संघ, जिल्ला र नगरसंघहरुलाई आर्थिक ऐन २०८२ को दफा १७ बमोजिम सुनका गरगहना कारोबार गर्ने व्यक्तिले जारी गर्नुपर्ने कर बिल नमुना पठाई कार्यान्वयनमा आवश्यक सहयोग र समन्वय गरिदिन अनुरोध भई आएकोमा हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ, विज्ञप्तीमा भनिएको छ । त्यस्तै समितिले सुन तथा सुनका गहना व्यवसायी र आम उपभोक्ता र राज्यलाई पर्न सक्ने प्रभावहरुको बारेमा बस्तुपरक अध्ययन र मुल्याङकन बिना लागू गरिएको २ प्रतिशत तहगत विलासिता कर र हिरा तथा बहुमुल्य पत्थयरमा लागू गरिएको १३ प्रतिशत मुल्य अभिवृद्धि कर (भ्याट) ले व्यवसायीलाई जोखिममा पार्ने र लाखँौको रोजगारी गुम्ने भएकोले सोको जानकारीसहित विगत डेढ महिनादेखि चरणवद्ध रुपमा आन्दोलनमा रहेको स्मराण गराएको अध्यक्ष दयालीले बताउनुभयो ।
नेपाल सरकार, अर्थ मन्त्रालयबाट वार्ताको लागि आह्वान भए अनुरुप नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र सुनचाँदी व्यवसायी तथा कालगिढ संघर्ष समितिसंग भएको ६ बुँदे सहमतिलाई कार्यान्वयन गर्न पनि माग गरिएको उहाँले बताउनुभयो । कार्यदलको मुख्य शर्त विलासिता कर र भ्याटको पुनरालोकन नै रहेकोले उक्त विषयहरुमा निक्र्यौल र निस्कर्षमा नपुगुन्जेल सम्म तत्कालको लागि विलासिता कर र भ्याट कार्यान्वय गर्न नसकिने जारी विज्ञप्तीमा उल्लेख गरिएको छ। व्यवसायीहरुले सुनमा लगाएको बिलासिता कर २ प्रतिशत र बहुमुल्य पत्थ्थर हिरामा १३ प्रतिशत भ्याट खारेज गरि सुनको भन्सार दर ६ प्रतिशत गर्न माग गरेका छन् ।
संघर्ष समितिका अध्यक्ष सन्तोष दयालीद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा कर दर पुनःसंरचना गरी सीमा क्षेत्रमै अनुगमन टोली खटाएर वस्तुको मूल्य यथार्थ मूल्यांकन गर्न सुझाव दिइएको छ। यस्तै, मुलुकभर एकरूप प्रणाली लागू गरी व्यापार अनुकूल वातावरण बनाउन पनि उनीहरूले माग गरेका छन्। सङ्घर्ष समितिले सरकारले तत्काल सुनुवाइ नगरे आन्दोलन चर्काउने चेतावनीसमेत दिएको छ।





प्रतिक्रिया