दार्चुला । सिन्धुलीको गोलन्जोर गाउँपालिकामा एकै परिवारका १६ जना बेपत्ता घटनामा स्थानीयदेखि प्रहरी प्रशासनसम्मले खोजी सुरु गरेका छन् ।
लोपोन्मुख हायु जातिका एकै परिवारका १६ सदस्य बेपत्ता भएपछि अहिले स्थानीय बासिन्दा, स्थानीय प्रशासन, पालिका तथा वडा र प्रहरीले खोजी सुरु गरेका छन् ।
बेपत्ता उर्मिला हायु परिवारको घर एकान्तमा भएकाले ढिलो गरी सूचना प्राप्त भएको गोलन्जोर गाउँपालिका अध्यक्ष शंकरराज बरालले जानकारी दिनुभयो ।
‘घटना हेर्दा शुक्रबार, शनिबारबाटै उनीहरु सम्पर्कबिहिन भएको जस्तो देखिन्छ । घर एकलासमा भएकाले स्थानीयले पनि ढिलो गरी थाहा पाए । सोमबार बिहान जानकारी पाउनसाथ प्रहरीलाई खबर गरेर खोजी सुरु गरेका छौं’ अध्यक्ष बरालले भन्नुभयो ।
पालिकाबाट अहिले उक्त ठाउँमा कर्मचारी समेत पठाइएको बरालले बताउनुभयो ।
गोलन्जोर गाउँपालिका–६ स्थित छेत्पा नजिक भण्डास बिप्पर कटेरी भन्ने ठाउँमा बसोबास गर्दै आएकी उर्मिला हायुको १६ जनाको परिवार हराएको भन्ने सूचना आएपछि खोजी सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी लालध्वज सुवेदीले बताउनुभयो।
उहाँका अनुसार अहिले हायुको घरमा इन्स्पेक्टरसहितको टोली पठाइएको छ । घटनाबारे स्थानीय, वडा र पालिकासँग सोधपुछ गरेर खोजी सुरु गरिएको छ । हायु जातिलाई राज्यले मासिक सामाजिक सुरक्षा भत्ता दिने भएकाले उक्त भत्ता लिएर कतै गएका हुन् कि भन्ने हिसाबले यसबारे पनि बुझ्ने काम भएको उहाँले बताउनुभयो।





प्रतिक्रिया