दार्चुला । दार्चुलाको लेकम गाउँपालिकामा सोमबार (आज) बाट राष्ट्रिय परिचय पत्र दर्ता शिविर सञ्चालन भएको छ। लेकम गाउँपालिकाको समन्वय तथा आयोजना र जिल्ला प्रशासन कार्यालय दार्चुलाको प्राविधिक सहयोगमा आज बाट गाउँपालिकाका वडाहरुमा राष्ट्रिय परिचय पत्रको विवरण दर्ता शिविर सुरु भएको गाउँपालिकाका एमआईएस अपरेटर प्रकाश राज विष्टले जानकारी दिनुभयो ।
सरकारले चालु आर्थिक बर्षको साउन १ गतेबाट सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न राष्ट्रिय परिचय पत्र अनिवार्य गरेपछि सेवाग्राहीको समस्यालाई मध्यनजर गर्दै गाउँपालिकाले शिविर सञ्चालनको लागि प्रशासन कार्यालयलाई आग्रह गरेको र सोही अनुसार प्रशासन कार्यालयको टोली गाउँपालिकामा आएर शिविरको माध्यमबाट राष्ट्रिय परिचय पत्र दर्ता सुरु गरिएको लेकम गाउँपालिका उपाध्यक्ष माधवी जोशीले बताउनुभयो । शिविरको पहिलो दिन आज लेकम गाउँपालिकाको वडा नम्बर ६ उचाकोटमा ३३ जनाको राष्ट्रिय परिचयपत्र दर्ता र २२ जनाको नागरिकता प्रतिलिपी बनाइएको जिल्ला प्रशासन कार्यालय दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनसिंह धामीले बताउनुभयो ।
मंगलबार (भोली) लेकम गाउँपालिकाको वडा नम्बर १ सर्मोलीमा शिविर सञ्चालन हुने छ। विहान सर्माेलीमा शिविर सञ्चालन हुन्छ, त्यहाँ कति जना उपस्थित हुन्छन, सर्मोलीमा छिट्टै शिविर सकियो भने वडा नम्बर ५ को चौपातामा पनि भोली नै शिविर सञ्चालन हुन सक्छ, एमआईएस अपरेटर प्रकाश बिष्टले भन्नुभयो । सामाजिक सुरक्षा भत्ता बुझ्न राष्ट्रिय परिचय पत्र अनिवार्य गरिए पछि ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाइ सास्ती भएको छ।
सरकारले चालु आर्थिक बर्षमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न राष्ट्रिय परिचय पत्र अनिवार्य गरेपछि ग्रामीण क्षेत्रका बृद्धबृदा र अपाङ्गता भएका व्यक्तिलाई समस्या भएको लेकम-५ का वडाअध्यक्ष बल्देब सिंह बोहराले बताउनुभयो। जिल्लाका कतिपय ठाउँमा यातायातको समेत सुविधा नरहेकोले हिडडुल गर्न नसक्ने जेष्ठ नागरिक र अपाङ्ता भएका नागरिक प्रशासन कार्यालयसम्म पुग्न समस्या भएको हो । अहिले प्रशासनले घरदैलोमै आएर परिचय पत्र दर्ता शिविर सञ्चालन गरेपछि केही राहत भएको सेवाग्राहीको भनाई छ।





प्रतिक्रिया