दार्चुला । दार्चुलाकै सबै भन्दा ठूलो जात्राको रुपमा मनाइने सुर्मा भवानीको ‘वीरे जात्रा’ साउन १८ गते देखि २४ गते सम्म लाग्ने भएको छ ।
हरेक तेस्रो बर्षमा अपिहिमाल गाउँपालिकाको वडा नम्बर ३ क्षेती घाजिरमा लाग्ने ‘वीरे जात्रा’ यो बर्ष साउन १८ गते देखि साउन २४ गते सम्म लाग्ने भएको गाउँपालिकाको वडा नम्बर ३ का वडा अध्यक्ष गगन सिंह कार्कीले बताउनुभयो ।
जात्रालाई व्यवस्थित, मर्यादित, सभ्य,भव्य र सु-संस्कृत बनाउन जात्रा अवधिकर उक्त क्षेत्रमा मदिरा बेचबिखन तथा सेवन पुर्ण रुपमा बन्द गरिएको वडा कार्यालयले सूचना मार्फत जानकारी गराएको छ।
वडा समितिको साउन ११ गते बसेको बैठकको निर्णय अनुसार जात्रालाई व्यवस्थित, मर्यादित, सभ्य,भव्य र सु-संस्कृत बनाउन साउन १७ गते देखि जात्रा अवधिकर उक्त क्षेत्रमा मदिरा बेचबिखन तथा सेवन, जुवातास खेल्न र हो-हल्ला गर्न पुर्ण रुपमा प्रतिबन्ध लगाउने निर्णय भएकोले जात्रा अवधिभर उक्त कार्य नर्गन नगराउन सबैमा आग्रह गरिएको छ।
यो जात्रा अपिहिमाल गाउँपालिका वडा नम्बर ३ घाजिर क्षत्ति हुँदै बझाङ जिल्लाको सुर्मासरोवर सम्म गएर मनाइने गरिएको छ । सुर्मासरोवर बझाङ जिल्ला र दार्चुला जिल्लाको सिमानामा पर्दछ । हिमश्रृंखलाहरूको विचमा अवस्थित यो सरोवर धार्मिक, पर्यटकीय तथा सांस्कृतिक दृष्टिमा अत्यन्त महत्वपूर्ण छ । सुर्मा जात्राको सुरुवात कहिलेदेखि सुरु भयो भन्ने एकिन प्रमाण नभएपनि सुर्माभवानीको चैतमा उल्लेख भए अनुसार एघारौ सताब्दी अघिबाट यो जात्रा मनाउन थालिएको बताइन्छ ।
जात्रामा अपिहिमाल गाउँपालिकाको खण्डेश्वरीबाट जाने तीर्थालुहरूले सुर्मा सरोवरमा पहिले पूजा आजा गरेर फर्किएपछि बझाङ तिरबाट आउने सिकारीको भेषधारी तीर्थालुहरूले पूजा गर्नेु पने किम्बदन्ती छ । सुर्मासरोवर ६ हजार ५ सय २३ मिटर उचाईमा रहेको छ ।
क्षेत्तीगर्खा पुख्र्यौली हुने समुदाय र घाजिर गर्खा पुख्र्यौली हुने समुदायहरूको तीर्थालुहरूले एक छाक मात्र खाएर सुर्माभवानीको व्रत बस्नु पर्दछ । यो ब्रत अन्य समुदायको जो सुर्मासरोवर तीर्थ जान चाहन्छन्, तिनीहरूले पनि बस्न सक्छन् । ती ब्रत बसेका सुर्माभवानीको भक्तहरूलाई ‘वीरे’ भनिन्छ । सुर्मा सरोवर जाने वीरेहरू पनि दुई प्रकारका हुन्छन् । पहिलो चोटी ब्रत बसेर तीर्थ जाने भक्तजनहरूलाई ‘वालोवीरे’ एकपटक गइसकेकाहरूलाई ‘बुढोवीरे’ भन्ने गरिन्छ । साथै यस जात्रामा सहभागी यात्रुहरूलाई ४ भागमा विभाजन गर्न सकिन्छ । यस जात्रामा सहभागि हुने भक्तजनहरुलाई उवादेशी, उनादेशी, जत्तोर र वाइदेशी वा तिर्थालु भनेर भन्ने गरिएको छ ।
जात्रामा सहभागी क्षेत्तीगर्खा पुख्र्यौली घर भएका, ठेकरे, बोहरा धामी, वैरे समुदायका भक्तहरूलाई उवादेशी, घाजीरगर्खाका यात्रुहरूलाई उनादेशी, रोकाया, कार्की तथा खण्डेश्वरी भित्रका यात्रुहरूलाई वाईदेशी भनिन्छ । जात्रा अवधिभर लसुन, प्याज, मसुर तथा मासु, रक्सी, जस्ता भोजन खान भने पाइदैन । यहाँ क्षेत्ती र घाजिर भन्ने गाउँ सुर्माभवानीको जात्राको प्रमुख तीर्थस्थल हो । हरेक वर्ष जात्रा लागेपनि सानो जात्रा र ठूलो जात्राको रुपमा मनाइने गरिएको छ । यो बर्ष लाग्ने ठुलो जात्रा हो ।
पर्यटकीय धार्मिक एवं सांस्कृतिक रुपका विविधताहरु जात्रामा देख्न सकिन्छ । जात्रा अवधिभर क्षेत्तिले संस्कृतिको पहिरन, नृत्य, देउडा, बाजागाजा यो जात्रामा देख्न पाइन्छ । यस्तै धार्मिक रुपमा मार्कण्डेय गुफा, धर्मिगुफा, सुर्मा मन्दिर, ताल घोप्टे, नाग ढुंगा, हिउँ नजम्ने ढुंगा, जस्ता हेर्न लायकका ठाउँहरू रहेको स्थानीय संस्कृतिका जानकारहरू बताउछन् ।





प्रतिक्रिया