दार्चुला । दार्चुलाको लेकम गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरणको काम गाउँमै पुगेर भइरहेको छ । लेकम गाउँपालिकाको आयोजनामा पञ्चिकरण शाखाको टोलीले घुम्ती सेवा मार्फत सामाजिक सुरक्षा परिचयपत्र नवीकरण गरिरहेको हो ।
आइतबार वडा नम्बर ४ स्थित खरकडा वडा कार्यालयका साथै मानबिसा, बुढाकोट, ओडीगाउँ गाउँमा पुगेर सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण कार्य गरिएको र सोमबार (आज) समेत खरकडा वडा कार्यालयमार्फत सेवा दिइने लेकम गाउँपालिकाका एमआईएस अपरेटर प्रकाशराज बिष्टले बताउनुभयो ।
साउन २० गते वडा नम्बर ३ को लाली वडा कार्यालय, २१ गते मकान्ना र गोइलाड गाउँ तथा २२ गते रतौडा गाउँमा सेवा दिइने उहाँले बताउनुभयो । उक्त सेवाले ज्येष्ठ नागरिक, असहाय, एकल, अपांगता भएका व्यक्ति लगायत सामाजिक सुरक्षाभत्ता पाउने लाभग्राहीहरूलाई सहज र पहुँचयुक्त सेवा प्रदान गर्ने उद्देश्य राखिएको छ ।
हिडेर वडा कार्यालयसम्म आउन नसक्ने लाभग्राहीहरुलाई लक्षित गरि सबै वडाको गाउँघरमै सेवा प्रवाह भइरहेको लेकम गाउँपालिकाले जनाएको छ । सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीले भदौ मसान्तसम्म बायोमेट्रिकसहित परिचयपत्र नवीकरण गरिसक्नुपर्नेछ ।
यसैबिच लेकम गाउँपालिकाले गत सोमबारदेखी शनिबारसम्म सञ्चालन गरेको घुम्ती सेवा शिविरमार्फत लेकम–६ का ९७ वर्षीय जयानन्द नाथ र लेकम–१ का ९६ वर्षीय परूली देवी बोहरालाई घरमै पुगेर नागरिकता प्रदान गरिएको छ ।
छ दिनसम्म सञ्चालन भएको घुम्ती शिविरमार्फत ५९ पुरुष र ८२ महिला गरी १४१ जनालाई नागरिकता प्रमाणपत्रको प्रतिलिपि वितरण गरिएको छ भने ७२ पुरुष र १२५ महिलागरी १९७ जनाको राष्ट्रिय परिचयपत्र दर्ता गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनसिंह धामीले बताउनुभयो ।
लेकम गाउँपालिकाभरीका ज्येष्ठ नागरिक, अशक्त, असहाय र एकल नागरिकलाई लक्षित गरि वडाबाटै सेवा प्रवाह गरिएको लेकम गाउँपालिका उपाध्यक्ष माधवी जोशीले बताउनुभयो । पहाडी भेगका दुर्गम बस्तीमा कार्यालय पुग्न गाह्रो हुने र उमेर तथा स्वास्थ्यका कारण सेवाबाट बञ्चित हुँदै आएका नागरिकको पहुँचमा सेवा पु¥याउन यो प्रयास गरिएको उहाँको भनाई छ । सेवा प्रवाहमा सहजीकरण गरेकोमा गाउँपालिका अध्यक्ष रामदत्त जोशीले जिल्ला प्रशासन कार्यालय दार्चुलाको टोलीलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।
सेवा खोज्न नागरिक कार्यालय पुग्न नसके सेवा आफैँ गाउँमा पुग्नुपर्छ भन्ने उद्धेश्यले यो पहल गरिएको गाउँपालिकाले जनाएको छ । नागरिकता प्रमाणपत्र र राष्ट्रिय परिचयपत्र नहुँदा अशक्त नागरिक र वृद्धवृद्धा सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य सेवा, बैंक खाता लगायत सुविधाबाट वञ्चित हुने अवस्था नआओस भनेर घुम्ती सेवा शिविर सञ्चालन गरिएको हो ।




