दार्चुला । शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वरमा रहेको महालक्ष्मी विकास बैंक लिमिटेडको रकम हिनामिनाको सूचना केन्द्रीय कार्यालयसम्म पुगेपछि दरबारमार्गमा केन्द्रीय कार्यालय रहेको महालक्ष्मी विकास बैंकले अनुगमनका लागि सुक्ष्म रुपमा टोली खटायो । गोकुलेश्वर शाखालाई जानकारी नै नदिई काठमाडौंबाट सुटुक्क अनुगमन टोली २३ साउनमा दार्चुला पुगेपछि केही कर्मचारी आत्तिएका थिए।
‘काठमाडौंबाट अनुगमनका लागि गएको टोलीले छानबिन गर्दै गयो । अनि खुल्यो ठूलो मात्रामा रकमको हिनामिना । दुई करोड ८४ लाख ७६ हजार ९०२ रुपैयाँ हिनामिना भएको छानबिनका क्रममा भेटिएको एक अधिकृतले बताउनुभयो । बैंकको भल्टमा रहेको नगद रकम गैरकानुनी रुपमा भुक्तानी लिएर बैंकलाई हानी नोक्सानी गरेको छानबिन समितिले निष्कर्ष निकाल्यो । लगत्तै यसबारे जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख तथा डीएसपी प्रकाश दाहाललाई घटनाबारे जानकारी गराउँदै त्यसैदिन (२३ साउनमै) उजुरी दिइयो । यसको भोलिपल्ट २४ साउनमा केन्द्रीय कार्यालयबाट अनुगमनमा गएको टोलीले दिएको छानबिनको निष्कर्ष अनुसार चार जना पक्राउ परे ।
डीएसपी दाहालका अनुसार पक्राउ पर्नेहरूमा दार्चुलाकै शैल्यशिखर नगरपालिका–३ घर भइ बैंकको नगद विभागमा कार्यरत २९ वर्षीया निर्मला साउद, बैतडीको पुर्चौडी नगरपालिका–३ घर भइ बैंकको ग्राहक सहायता कक्षमा कार्यरत २८ वर्षीय अम्बादत्त पन्त, कैलालीको भजनी नगरपालिका–७ घर भई बैंकको शाखा प्रबन्धक ३५ वर्षीय सागर शाही र दार्चुलाको लेकम गाउँपालिका–१ घर भइ बैंकको कर्जा विभागमा कार्यरत ३१ वर्षीय धनन्जय पन्त छन् ।
अहिलेसम्मको छानबिनले चार जनाको मात्रै संलग्नता देखाएकाले उनीहरूलाई मात्रै पक्राउ गरिएको प्रहरीको भनाइ छ । अनुसन्धानका क्रममा अन्य व्यक्तिको संलग्नता देखिएमा कारबाही अघि बढाउने डीएसपी दाहाल बताउँछन् । पक्राउ परेकी निर्मला साउदको आफ्नै माइतीघरमा रहेको कार्यालयमा पौने तीन करोड हिनामिनाको आरोप लागेको छ ।
बैंकले हेमराज जोशीलाई शाखा प्रबन्धकको जिम्मेवारी दिएर शाखा सञ्चालन गरिरहेको छ । उक्त बैंकको कामकाज सोमबारदेखि निरन्तर रुपमा चलेको बताइएको छ । बैंकले ग्राहकको रकम भने सुरक्षित रहेकाले ढुक्कले काम गर्न अनुरोध गरेको छ ।
पक्राउ परेकाहरूले संगठित रुपमा मिलेमतो गरेर बैंकको रकम हिनामिना गरेको देखिएको प्रहरीले बताएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका चार जनाको मिलेमतो देखिएको दार्चुलाका प्रहरी प्रमुख दाहालले बताउनुभयो। संगठित रुपमा मिलेर बैंकको रकम हिनामिना गरेको पाइए पनि प्रहरीले उनीहरूविरुद्ध अहिले भने बैंकिङ कसुरमा मात्रै म्याद लिएर अनुसन्धान अघि बढाएको छ ।
पक्राउ परेकाहरूविरुद्ध आइतबार दार्चुला जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको डीएसपी दाहालले बताउनुभयो। पछि अनुसन्धान गर्दै जाँदा अन्य कसुर पनि आकर्षित हुने देखिएमा थपिँदै लगिने उहाँको भनाइ छ।
पौने तीन करोड रुपैयाँ हिनामिना गरेको बताइए पनि उनीहरूबाट भने उक्त रकम बरामद भएको छैन । हिनामिना गरिएको रकम उनीहरूले कहाँ लगे, कसलाई दिए, के मा खर्च गरे भन्ने अनुसन्धानकै पाटो रहेको प्रहरीले बताएको छ । यो रकम कहिलेदेखि हिनामिना गरियो, भन्नेबारे अहिलेसम्म यकिन हुन बाँकी नै रहेको प्रहरीको भनाइ छ । हिनामिनाको रकम नभेटिए पनि प्रारम्भिक सोधपुछ गर्दा अनाइन बेटिङ खेलेको बयान दिएका छन् ।
तर उनीहरूको बताएको उक्त कुरालाई प्रहरीले पुष्टि गरिसकेको छैन । ‘उहाँहरूको भनाइ एउटा होला । त्यसलाई प्राविधिक जाँच गरेर पुष्टि नगरी भन्न सक्ने अवस्था छैन । यसका लागि भर्खर हाम्रो अनुसन्धान सुरु भएको छ,’ डीएसपी दाहालले भन्नुभयो ।
बेटिङ नै खेलेको भए पनि हिनामिना गरिएको सबै रकम भने नखेलेको हुनुपर्ने बुझाइ प्रहरीको छ । यद्यपि यो पाटोको अनुसन्धान बाँकी नै छ । आरोपितहरू पक्राउ परेर विस्तृत रुपमा अनुसन्धान भइरहेकाले अनुसन्धानपछि बाकी कुरा खुल्ने प्रहरीको भनाइ छ। बैंकमै यस्तो घटना भएपछि बचतकर्ता तथा ग्राहक चिन्तित बनेका छन् । ग्राहकको रकम सुरक्षित रहेको बैंकले जनाएको छ ।




