बैतडीमा सिमेन्ट उद्योग खोल्ने तयारी, फलामसमेत भेटियो

दार्चुला। बैतडीमा सिमेन्ट उद्योग खोल्न तयारी भइरहेको छ । आइएमई समूहले दोगडाकेदार गाउँपालिका र सुर्नया गाउँपालिकाको धर्मघरदेखि सुपलेको लेकसम्म १० वर्गकिलोमिटर क्षेत्रफलसम्म खोजतलासको लाइसेन्स प्राप्त गरेपछि सिमेन्ट उद्योगको तयारी थालिएको बताइएको छ । सिमेन्ट उद्योग सञ्चालनको सबै तयारी पूरा भएर सडक विभागको स्थलगत निरीक्षणसतिको सहमति माग गरिएको आइएमई समूहका भूवैज्ञानिक प्रेम खड्काले जानकारी दिनुभयो। पहिलो चरणमा ३५ वर्षसम्मका लागि पुग्ने गरेर ६८ हेक्टर क्षेत्रफलमा रहेको चुनढुङ्गा उत्खननको प्रस्ताव गरिएको उहाँले बताउनुभयो ।

अहिले महाकाली लोकमार्गसँग जोडिएको खानी उत्खनन गर्दा सडकलाई असर गर्ने वा नगर्ने विषयमा सडक विभागसँग राय माग गरिएको छ । उत्खनन हुने खानी महाकाली लोकमार्गबाट पाँच सय मिटर टाढा रहेकाले सडकलाई खासै असर नपर्ने सडक डिभिजन कार्यालय बैतडीका इन्जिनियर लीलाधर भट्टले बताउनुभयो । उद्योगमा २५ अर्ब रुपियाँ लगानी गर्ने योजना रहेको बताइएको छ ।

प्रस्तावित खानीमा अनुमानित चार करोड ६५ लाख टन चुनढुङ्गा रहेको भूवैज्ञानिक प्रेम खड्काले बताउनुभयो । खानीबाट दैनिक चार हजार पाँच सय टन चुन ढुङ्गा उत्खननको प्रस्ताव राखिएको छ । यहाँको ढुङ्गामा ५० प्रतिशत चुन (क्याल्सेसियम अक्साइड) र १.२ प्रतिशत म्याग्नेसियम अक्साइड भेटिएको छ । सिमेन्टका लागि यो मात्रा निकै प्रभावकारी हुने उहाँको भनाई छ ।

नेपाल–भारत सीमानाका झुलाघाटबाट ३५ किलोमिटर पूर्वमा रहेको खानीनजिकै उद्योग स्थापना गरेर नेपालको सिमेन्ट विदेश निर्यात गर्ने लक्ष्य राखिएको छ । सिमेन्ट उद्योगलाई आवश्यक पर्ने फलामसमेत बैतडीमै भेटिएको छ । सिमेन्ट उद्योगलाई आवश्यक पर्ने म्याग्नाइट आइरन बैतडीको सिगास गाउँपालिका–१, सुगरखालमा भेटिएपछि उद्योगी थप उत्साहित भएका छन् । फलाम खोजतलास गर्ने अनुमति पाएको नेपाल जिन्दु माइनिङले सुगरखालमा पत्ता लगाएको खानीमा ३८ प्रतिशत फलाम भेटिएको जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?