दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ मा तेर्छालेकमा पहिरोले अबरुद्ध भएको सडक सञ्चालन भएको छैन । शुक्रबार (हिजो) साँझ पहिरो खसेर तेर्छालेकमा सडक अबरुद्ध भएको छ भने सोही पहिरोमा एउटा जिप फसेको छ ।
प्रहरी र सडकको टोलीले हिजो बेलुका देखि नै पहिरो पन्छ्याउने प्रयास गरिरहेको भए पनि शनिबार विहान ७ बजे सम्म सडक सञ्चालन हुन नसकेको मालिकार्जुन प्रहरीले जनाएको छ । अहिलेसम्म पहिरोमा फसेको जिप पनि निकाल्न नसकिएको प्रहरीले जनाएको छ। शुक्रबार खलंगाबाट गोकुलेश्वरतर्फ जादै गरेको सुप प्र ०१ ००१ ज ११८४ नम्बर को जिप पहिरोमा फसेको थियो । जिपमा सवार दुई जना यात्रु भने सुरक्षित रहेको मालिकार्जुन प्रहरी चौकीका बरिष्ठ हवल्दार सुरेश चन्दले बताउनुभयो ।
जिपको अगाडिको चक्काको भाग पुरिएर जिप फसेको छ । जेसिबी मेसिन र प्रहरीले जिपको उद्धारको प्रयास गरिरहेको उहाँले बताउनुभयो । शनिबार (आज) पनि विहान ६ बजे देखि नै जेसिवी लगाएर पहिरो हटाउने कार्य भइरहेको प्रहरीले जनाएको छ।
सडक बन्द हुँदा जिल्ला सदरमुकाम खलंगाबाट बाहिरिने र जिल्ला भित्रिने यातायातका साधनहरू बन्द भएका छन् । शुक्रबार काठमाडौं, कैलाली, कञ्चनपुरबाट आएका बस पनेबाँजमा रोकिएका छन भने सदरमुकामबाट बाहिरिने यातायातका साधन ऐरिछाना क्षेत्रमा रोकिएका छन् । लामो समय सडक अवरुद्ध हुँदा यात्रु र व्यवसायीलाई समस्या भएको छ ।





प्रतिक्रिया