सुदूरपश्चिममा आज ‘ठूली गौरा’ मनाइँदै,  गौरा अवधिभर मदिराजन्य पदार्थको विक्री वितरण बन्द गर्ने निर्णय

दार्चुला । सुदूरपश्चिमेलीको मुख्य पर्व गौराको तेश्रो दिन आज ब्रतालु महिलाहरुले गौरादेवीलाई गौराघरमा भित्र्याउँदै छन् । स्थानीय भाषामा भितरीकी गौरा अर्थात ‘ठूली गौरा’भनिने आजको दिनलाई ब्रतालु महिलाहरुले विशेष दिनको रुपमा लिने गरेका छन् ।

ब्रतालु महिलाहरुले बिहानै नुवाईधुवाई गरेर साँझको समयमा गौरालाई गौरा घरमा भित्र्याउने चलन रही आएको छ । आज अमुक्ताभरण सप्तमी भएकाले ब्रतालु महिलाहरुले सामूहिक रुपमा फाग गाएर गौरा देवीको पूजा गर्ने चलन रही आएको छ ।

‘ठूली गौरा’को दिन आज गौरा र महेश्वरको प्रतिमूर्ती स्थापना गरेर ब्रतालु महिलाहरुले फलफूल र बिरुडाले गौरादेवीको पूजा पनि गर्ने गर्दछन् । ब्रतालु महिलाहरुले धारण गर्ने बिशेष प्रकारको धागो अर्थात दुबधागो पनि आजै गौरादेवीमा चढाउने चलन छ । साँउ, अपामार्ग, तील लगायतका वनस्पतिबाट गौराको प्रतिमूर्ती बनाइ पूजाआजा गर्ने चलन रही आएको छ । खेतबारीबाट साउँ, अपामार्ग, तील लगायतका वनस्पतीहरु ल्याएर गौराको प्रतिमूर्ती बनाइ आज गौरा घरमा गौरा भित्र्याइन्छ ।

आज साँझको समयमा ब्रतालु महिलाहरुले कुण्ड स्नान गर्ने चलन रही आएको छ । आज गौरा देवीमा चढाएको दुबधागोलाई भोलि दुर्वाष्टमी अर्थात अठ्यावालीका दिन ब्रतालु महिलाहरुले धारण गर्ने गर्दछन् । नयाँ दुबधागोहरु आज गौरादेवीमा समर्पण गर्ने र उक्त दुबधागो भोलि अठ्यावाली सकिएपछि धारण गर्ने परम्परा रही आएको छ ।

गौरापर्वको मुख्य दिनको रुपमा रहेको सप्तमीको दिनमा गौरा र महेश्वरको पूजागरी ब्रतालु महिलाहरुले राति मिठोमसिनो खाना खाने चलन छ ।

यो बर्षको गौरा शुक्ल पक्षमा परेका कारण नयाँ दुबधागो धारण गर्नेहरुका लागि पनि शुभ रहेको छ । गौराको मुख्यदिन भोलि गौराष्टमी अर्थात अठ्यावालीका दिन महिलाहरुले गौरालाई गौराघरबाट गौराखलामा लगेर पूजा गर्ने चलन रही आएको छ । गौराको समयमा विभिन्न ऐतिहासिक ठाडो खेल, ढुस्को, धमारी,चैत खेल्नुका साथै देउडा खेलेर रमाइलो गर्ने गरिन्छ ।

यस्तै गौरापर्व अवधिभर मदिराजन्य पदार्थको विक्री वितरण बन्द गर्न आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले पनि निर्णय गरेको छ । जिल्लाका विभिन्न स्थानहरुमा गौरा पर्वको अवसरमा लाग्ने मेला अवधिभर मदिराजन्य पदार्थको विक्री वितरण बन्द गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

शुक्रबार प्रमुख जिल्ला अधिकारी अनिल पौडेलद्धारा जारी गरिएको सार्वजनिक सुचना मार्फत गौरापर्वमा कुनैपनि किसिमको अवाच्छित गतिविधिहरु हुन नदिई गौरापर्वलाई शान्तीपुर्ण र सभ्य रुपमा सम्पन्न गर्नका लागि मदिराजन्य पदार्थको विक्री वितरणमा रोक लगाइएको जानकारी गराइएको छ।

बैठकले शैल्यशिखर नगरपालिकाको वडा –६ अन्तरर्गत उल्लानी, चैलिचौर,र पनेवाज,मालिकार्जुन गाउँपालिकाको सम्पुर्ण क्षेत्र,तथा महाकाली नगरपालिकाको वडा ७ र८का साथै गौरा मेलालाग्ने जिल्लाभित्रका अन्य स्थान हरुमा समेत मदिराजन्य पदार्थको विक्री वितरण बन्द गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।
उक्त निर्णयको उल्लघंन हुनेगरी कार्यहरु गरेको पाइएमा प्रचलित कानून बमोजिम कारबाही हुने सुचना मार्फत नै प्रशासनले चेतावनी दिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?