दार्चुला । दार्चुलाको अपिहिमाल आरोहणको क्रममा घाइते भएका दुई जनालाई हेलिकप्टर मार्फत उद्धार गरिएको छ । अपिहिमालको पहिलो आरोहणको लागि आएको टोलीका दुई जना सदस्य आरोहणको क्रममा घाइते हुनुभएको थियो।
घाइतेहरुको उद्धारको लागि तीन देखि निरन्तर प्रयास भइरहेको भए पनि मौषम प्रतिकुलताको कारण उद्धार हुन सकेको थिएन । सोमबार (आज) विहान मौषम खुलेपछि दुबै जना घाइतेलाई हेलिकप्टर मार्फत उद्धार गरिएको अपिहिमाल गाउँपालिका अध्यक्ष भक्त बहादुर सिंह ठेकरे बोहराले बताउनुभयो ।
अपिहिमालको पहिलो आरोहणको लागि आएको टोलीले गत भदौ १९ गतेबाट प्रशिक्षण सुरु गरेर शुक्रबार अपिहिमालको पहिलो आरोहणको लागि प्रस्थान गरेको थियो । सोही क्रममा टोलीका २ जना सदस्य घाइते भएको गाउँपालिका बोहराले बताउनुभयो ।
‘आरोहणको क्रममा टोलीका सदस्य सञ्जीव गुरुङ र तेन्जिङ लामा शेर्पा घाइते हुनुभएको थियो, उहाँहरुको उद्धारको लागि ३ दिन देखि निरन्तर प्रयास भइरहेकोमा आज विहान मौषम खुल्यो, हेलिकप्टर अवतरणेका लागि उपयुक्त भिजिविलिटी भए पछि उहाँहरुको सकुसल उद्धार गरिएको छ’उहाँले भन्नुभयो।
गुरुङ र शेर्पालाई लिन शुक्रबार देखि सिम्रिक एयरको हेलिकप्टरले नियमित प्रयास गरिरहेको थियो । लगातार भइरहेको बर्षाको कारण भिजिविलिटी कम हुँदा हेलिकप्टर अवतरण हुन नसकेको र सोही कारण घाइतेहररुको उद्धारमा ढिलाई भएको थियो ।
घाइतेहरुमा संन्जिव गुरुङको खुट्टा भाचिएको र तेन्जिङ लामा शेर्पा लाई शरीरमा चोट लागेको छ ।
घाइते दुबै जना अपिहिमाल क्षेत्रमा सञ्चालन भइरहेको माउन्टेन गाइड तालिमका सदस्य हुन । उहाँहरुको उद्धार पछि टोलीका अन्य सदस्यले अपिहिमाल क्षेत्रमा माउन्टेन गाइड तालिम निरन्तरता दिएको र अपिहिमाल आरोहणको प्रयास पनि जारी रहने गाउँपालिका अध्यक्ष बोहराले बताउनुभयो ।





प्रतिक्रिया