दार्चुला । नेपालीहरूको महानचाड बडा दसैँ तथा दीपावली र जात्रा लगायत चाडपर्वहरु नजिकिएसँगै रोजगारीका लागि छिमेकी राष्ट्र भारत गएकाहरू घर फर्कन थालेका छन्। दार्चुलासहित सुदूरपश्चिमका भारतसंग सीमा जोडिएका नाकाहरुबाट दिनहुँ नेपाली स्वदेश भित्रिनेक्रम बढ्दै गएको सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाले जनाएको छ । दार्चुलाको खलंगा, दत्तु, जोलजिवि, लाली, तिग्रम, माल लगायत सीमा नाका भएर दैनिक नेपालीहरु भारतबाट घर फर्किरहेका छन् ।
चाडपर्व नजिकिएसंगै दार्चुला, बैतडी, कञ्चनपुर, कैलालीका विभिन्न नाका भएर हजारौँ नेपालीहरु घर फर्किएका छन् । सीमासुरक्षा गुल्मका अनुसार कैलालीको त्रिनगर सीमा नाकाबाट एक सातामा चार हजार ७७३ जना नेपाली भारतका विभिन्न सहरबाट रोजगारी गरी फर्किएका छन्। प्रत्येक दिन स्वदेश भित्रिनेको सङ्ख्या बढ्दै गएको छ । चाडपर्वमा नवरात्रा बस्नेदेखी पुजाआजा गर्ने, देउडा, दमाहा र विभिन्न सांस्कृतिक गतिविधिमा रमाउने, परिवारका सदस्यहरुबीच एकसाथ भेटघाट हुने, मिठामिठा स्थानीय खानाका परिकार खाएर रमाइलो गरी मनाउने चलन रहेको छ । बडादसैँमा टीका थाप्नु, भाइटीका लगाउनका साथै पारिवारिक भेटघाट र खेतीपाती भित्र्याउन आफूहरु घर फर्केको फर्किनेहरु बताउछन् ।
छिमेकीमूलुक भारत जाने सर्वसाधारण नेपाली कोही छोटो समयका लागि, कोही लामो समयका लागि रोजगारी गर्न भारत जाने गर्दछन्। अधिकांश खेतीपाती भएका आफ्नो काम सम्पन्न गरी अन्नबाली नभित्रिञ्जेल भारतमा काम गर्न जाने र फसल प्राप्त हुने समयमा घर आउने गर्दछन्। खेतीपाती नहुनेहरू लामो समयको अन्तरालपछि चाडवार्ड मनाउन घर आउने गरेको पाइन्छ ।
सुदूरपश्चिम प्रदेशबाट कामको लागि भारतको मुम्बई, दिल्ली, बंग्लोर, पिथौरागड, नासिक, पञ्जाब, अहमदाबादलगायत ठूला सहरमा जाने गर्दछन्। भिसा आवश्यक नपर्ने र रोजगारी पनि सहजै प्राप्त हुने भएकाले पनि यस क्षेत्रका हजारौँ नेपाली रोजगारीका लागि भारत जाने गरेका छन्। काम विशेषले परदेशीएका आफन्त गाउँघरमा फर्किएसंगै गाउँघरमा चहलपहल बढेको छ । दार्चुलाका गाउँघरमा अहिले मकै भाच्ने, धान काट्ने, खर काट्ने र खेत खाली गरेर गहुँ छर्ने तयारी भइरहेको छ । आज आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष अपराह्नकालमा दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी समापन गरिँदैछ । असोज ६ गते (भोली) घटस्थापनादेखी दशैं सुरु हुने भएकोले धार्मिक गतिविधिको तयारी पनि भइरहेको छ ।





प्रतिक्रिया