दार्चुला । नेपालीहरुको महान पर्व बडादशैँ शुरु भएसंगै गाउँदेखी शहरसम्म रौनकता छाएको छ । दशैँको पहिलो दिन आज शक्तिपीठ तथा मन्दिरहरुमा जमरा राखेर घटस्थपाना गरिएको छ । दार्चुला, बैतडीसहित देशका विभिन्न स्थानका शक्तिपीठ तथा मन्दिरहरुमा सामूहिक जमरा राख्ने प्रचलन रही आएको छ । कुनै कुनै ठाउँमा घरमै पनि जमरा राख्ने चलन छ ।

दार्चुलासहित देशका अधिकाशं स्थानमा घरघरबाट जौं लगेर मन्दिरमा सामूहिक रुपमा जमरा राख्ने चलन रही आएको मालिकार्जुन मन्दिर मैखोलीका भण्डारी केशवदत्त जोशीले बताउनुभयो । जिल्लाका धेरैजसो मन्दिर तथा शक्तिपीठहरुमा सामूहिक रुपमा जमरा राखिएको छ । दार्चुलाका मालिकार्जुन, हुनैनाथ, लटिनाथ लगायत विभिन्न शक्तिपिठ र बैतडीका त्रिपुरासुन्दरी, निङ्गलाशैनी, मेलौली, डिलाशैनी, कफलाशैनी, फाल्ङासैनी, कालशैनी, सिगास, केदार, शिवनाथ, जगन्नाथ, नागार्जुन, बासुलिङ्ग, दोगडाकेदार, महारुद्र, उदयदेव, अनिरुद्र, भूमिराज लगायतका मन्दिरहरुमा सामूहिक रुपमा जमरा राखिएको छ । मन्दिरहरुमा जमरा राखेपछि नवरात्र पनि शुरु भएको छ ।

दशैंको समयमा मन्दिरमै बसेर नवरात्र उपासना गर्ने चलन रही आएको भण्डारी जोशीले बताउनुभयो । दशैँको समयमा मन्दिर तथा भण्डार घरहरुमा सामूहिक जमरा राखेर दैनिक पूजापाठ गर्ने चलन छ । गाउँघरका सबै दर्शनार्थीहरुले घरघरबाट जौं र अन्य पूजा सामग्री ल्याएपछि मन्दिरको भण्डार घरमा सामूहिक जमरा राखिएको हो । शक्तिपीठ तथा मन्दिरहरुमा जमरा राख्नु अघि भण्डार घरबाट शक्तिपीठ तथा मन्दिरहरुमा देउरो तथा भराण लग्ने चलन रही आएको छ । सामूहिक रुपमा जमरा राख्ने प्रचलनले सामाजिक सदभाव पनि कायम हुने स्थानीय संस्कृतिका जानकारहरु बताउछन् ।

सामुहिक जमरा राख्ने र नवरात्रा बस्ने चलनले सबैलाई एकैठाउँमा भेटघाट हुने वातावरण समेत सिर्जना गरेको छ । दशैँको समयमा शिव र शक्ति दुवैको पूजाआजा हुने भएकाले भगवतीका मन्दिरका साथै अन्य मन्दिरहरुमा पनि सामूहिक रुपमा पूजाआजा गर्ने चलन रही आएको छ । शक्तिपीठ तथा मन्दिरहरुमा जमरा राखिएसंगै नित्य पूजा आराधना गर्ने गरिएको छ । नवरात्र शुरु भएसंगै देवीदेवताका मन्दिरहरुमा भक्तजनहरुको घुँइचो बढेको छ ।

रोजगारी, पढाइ लगायत काम विशेषले बाहिर गएका र बसाइसराई गरेर तराइ गएकाहरु समेत दशैंको समयमा थातथलोमा फर्कने भएकाले शक्तिपीठ तथा मन्दिरहरुमा घुँइचो लागेको हो । जिल्लामा रहेका देवीका मन्दिरहरुमा घटस्थापनाकै दिनदेखि भक्तजनहरुको घुँइचो लाग्ने गरेको छ । दार्चुला र बैतडीमा रहेका शक्तिपीठ तथा मन्दिरहरुमा दशैंको बेला सीमावर्ती भारतीय दर्शनार्थीहरु समेत दर्शनका लागि पुग्ने गरेका छन् ।

नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर नवदुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाआराधना गरेका छन् । घरको पूजा कोठा वा दसैँ घरमा विधिपूर्वक घटस्थापना गरेपछि शैलपुत्री देवीलाई आह्वान गरी पूजाआराधना गरिएको हो । गिरिराज हिमालयकी पुत्री पार्वतीदेवी नै शैलपुत्री भएको देवी कवच, मार्कण्डेयलगायत पुराण आदि ग्रन्थमा उल्लेख गरिएको छ । घटस्थापनासँगै देशभरका शक्तिपीठमा बिहानैदेखि पूजाआराधना एवं दर्शन गर्ने भक्तजनको घुइँचो लागेको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

दार्चुलासहित सुदूरपश्चिममा भव्यताकासाथ गौरा मनाइयो, खेणी, धोणी बर्षाले प्रभावित (भिडियो)

२०८२ भाद्र १७, मंगलवार १४:४० गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?