दार्चुला । दार्चुलाको लेकम गाउँपालिकामा बजार अनुगमन गरिएको छ। असोज ६ र ७ गते लेकम गाउँपालिका भित्रका २० वटा पसलको अनुगमन गरिएको लघु उद्यम शाखा प्रमुख पुरनसिंह बगालले बताउनुभयो।
लेकमको वडा नम्बर २, ४, ५ र ६ का २० वटा पसलको अनुगमन गर्दा सात वटा पसल दर्ता नभएको पाइएको छ। यस्तै विभिन्न पसलबाट म्याद नाघेको तीन हजार १७३ रूपैयाँ मूल्य बराबरको खाद्यान्न, शृङगार, जंकफुड लगायत सामग्री नष्ट गरिएको छ। अनुगमन गरिएका २० वटा पसलहरूमध्ये ७ वटा पसल दर्ता नगरेको पाइएकोले सात दिनभित्र पसल दर्ता गर्न/गराउन निर्देशन गरिएको उहाँले बताउनुभयो।
बजार अनुगमनमा लेकम गाउँपालिका उपाध्यक्ष तथा लेकम गाउँपालिकास्तरीय अनुगमन समिति संयोजक माधवी जोशी, प्रमुख प्रशासकीय अधिकृत दीपकराज जोशी, स्वास्थ्य शाखा प्रमुख अम्बादत्त जोशी, कृषि शाखा प्रमुख गजेन्द्रनारायण नाथ, पशु शाखा प्रमुख थानेश्वर बोगटी, कर्मचारी, सुरक्षाकर्मी लगायतको सहभागीता रहेको थियो।
केही पसलबाट बरामद गरिएको म्याद नाघेको सामग्री इलाका प्रहरी कार्यालय रिठाचौपातामा अनुगमन समिति र सुरक्षाकर्मी, सञ्चारकर्मीको उपस्थिति तथा रहोवरमा नष्ट गरिएको प्रमुख प्रशासकीय अधिकृत दीपकराज जोशीले बताउनुभयो । पसल सञ्चालन गर्दा कानूनको पालना गर्न तथा गल्ती नदोहोर्याउन सचेत गराइएको बताइएको छ।





प्रतिक्रिया